खोटाङ/ खोटाङमा काम बीचैमा छोडेर अलपत्र पार्ने एक निर्माण कम्पनीले प्रयोग गदैै आएको एक्स्काभेटर र ट्याक्टर खोटाङकै एक नगरपालिकाले नियन्त्रणमा लिएको छ ।
ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर र ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको हो ।
दिक्तेल हाटडाँडादखि लफ्याङ काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नतिको ठेक्का लिएर बीचैमा छोडेर अलपत्र पार्ने लगलगे कन्ट्रक्सनको एक्स्काभेटर र ट्याक्टर नियन्त्रणमा लिइएको हो ।
करिब ४६ लाख रुपैयाँको लागतमा असार मसान्तसम्म सक्नेगरी सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग २०७८ माघ २० गते सम्झौता गरेको थियो । पटक पटक म्याद थपिएपनि कम्पनीले सडक निर्माण नगरी अलपत्र छोडेको थियो ।
कम्पनीले निर्माण सामग्री लिएर भाग्ने प्रयास गरेपछि एक्स्काभेटर र ट्याक्टरहरुमा ताला लगाएर नियन्त्रण लिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाअध्यक्ष दिनेश घिमिरेले बताए । सम्बन्धित निर्माण कम्पनी आएर काम सक्ने वातावरण नबनाइन्जेलसम्म नियन्त्रणमा लिने उनले बताए । उनले भने–‘पटक पटक थपिएको समयमा पनि काम गर्न नसकेपछि निर्माण कम्पनी भाग्न लागेपछि हामीले एक्स्काभेटर र ट्याक्टर नियन्त्रणमा लिएका हौ ।’