धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले १६औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगिता २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेश सरकारबाट कुल १ लाख ७५ हजार रुपैयाँ नगदसहित सम्मान प्राप्त गरेका छन्।
कोशी प्रदेशको प्रतिनिधित्व गर्दै तेक्वान्दोको छात्रा पुम्से विधामा स्वर्ण पदक जितेकी युमी राईलाई नगद १ लाख रुपैयाँ तथा कराते विधामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालमै दोस्रो स्थान हासिल गरेका कक्षा–११ का विद्यार्थी प्रमोद राईलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको हो।
राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर काठमाडौंको आयोजनामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दुवै खेलाडीलाई सामाजिक विकास मन्त्रालय तथा प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले सम्मानपत्रसमेत प्रदान गरेको छ।
विद्यार्थीहरूको उपलब्धिलाई सम्मान गर्दै मंगलबार युएन नवोदय कलेजले विशेष कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ लगायतले अभिभावकको उपस्थितिमा सम्मान गरेका थिए।
क्याम्पस प्रमुख तुम्बापोले युएन नवोदयका विद्यार्थीहरूले अध्ययनसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा पनि निरन्तर उत्कृष्टता हासिल गरिरहेको बताए।
कलेजले शैक्षिक र खेलकुद दुवै क्षेत्रमा प्राप्त उपलब्धिले आफूलाई कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्दै लगेको जनाएको छ।
