सुनसरी । नेकपा एमालेकी नेतृ भगवती चोधरीले किसानले आफ्नो उत्पादनको मूल्य आफैँले तोक्न पाउनुपर्ने बताएकी छिन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार सिफारिस भएकी चौधरीले सुनसरीमा आयोजित अखिल नेपाल किसान महासंघ एक नम्बर प्रदेश कमिटीको पूर्ण बैठकमा बोल्दै उत्पादनशील क्षेत्रमा किसानले गरेको योगदान अनुसार राज्यले सम्मान नगरेको बताइन् ।
‘किसानले दुःख गरेर उत्पादन गर्छ, मूल्य भने अर्कैले राखिदिन्छ ।’ उनले भनिन– ‘वषौंदेखि किसानले भोग्दै आएको यस्तो असमान नीतिको विरुद्धमा जाग्नुपर्छ । राज्यलाई खबरदारी गरी– जस्तो उत्पादन हो उसैको मूल्य हुनुपर्ने व्यवस्था गर्नुपर्छ ।’
चौधरीले युवालक्षित कृषि प्रणालीको सुधार गर्नुपर्ने औँल्याइन । उनले प्रविधिमैत्री खेतीको विकास गर्न राज्यले व्यवहारमा लागु गर्न सकिने योजना ल्याउनुपर्नेमा जोड दिइन् । उत्पादनलाई जीवन निर्वाहमुखी मात्र होइन, व्यावसायिकतामा ढाल्न सके आयातमुखी कृषि अर्थतन्त्रलाई विस्थापित गर्न सकिने उनको भनाई छ ।
‘हामीले सबै खाले खेती गर्दा सोचेजस्तो लाभ लिन सकिरहेका छैनौ ।’ उनले भनिन्– ‘भूगोल अनुसार सुहाउँदो हावापानीमा हुनसक्ने बाली लगाउने बारे राज्यले चाक्ला बन्दी खेती अभ्यासलाई प्राथमिकता दिनुपर्छ । किसानलाई मल, बीउ र सिँचाइको उपयुक्त प्रबन्ध गर्नु राज्यको मूल्य दायित्व हो भन्ने बुझ्नुपर्छ ।’