धरान । स्वास्थ्यचौकी तथा वडाहरुको काम कारबाही चुस्त नभएको व्यापक जनगुनासो आएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सोमबार अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मेयर कोइरालाले कमीकमजोरीलाई सुधार गरेर सेवाग्राहीलाई छिटो–छरितो सेवा प्रवाह गर्न वडाध्यक्षसहित कर्मचारीहरूलाई निर्देशन दिए ।
निर्वाचित भएर आएलगत्तै डुबान समस्या, फुटपाथ खाली गर्ने र चौपाया नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको महानगरपालिकाले वडा र महानगर मातहतका स्वास्थ्यचौकीको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने अभियान सञ्चालन गर्ने उद्देश्यले मेयर कोइरालाले अनुगमन गरेका हुन् ।
उनले अनुगनमा क्रममा विराटनगर वडा नम्बर १५ र रानी स्वास्थ्य चौकीको अनुगमन गरेका हुन् । उनले जनगुनासो नआउने गरी काम गर्न वडा र स्वास्थ्यचौकीका कर्मचारीलाई निर्देशनसमेत दिए ।
उनले भने–‘वडा कार्यालय र स्वास्थ्य चौकीका कर्मचारी समयमै नआउने, आएर पनि पूरै समय नबस्ने, स्वास्थ्य चौकीमा औषधि अभावलगायतका समस्यालाई लिएर बारम्बार जनगुनासो आएको छ, यसलाई तत्काल सुधार गर्नुपर्छ ।’
सो मेयर कोइरालाले महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने बताउँदै राजस्व संकलनमा कडाइका साथ उत्रिनुपर्नेमा जोड दिए । नक्सा पास नगरी बनाएका घर, मापदण्ड मिचेका संरचनालगायतको तथ्यांक संकलन कारबाहीको दायरामा ल्याउनसमेत उनले निर्देशन दिए । ‘हाम्रो लक्ष्य भनेको समृद्ध र विकसित विराटनगर बनाउने हो,’ मेयर कोइरालाले भने, ‘त्यसका लागि सबै मिलेर आम्दानी बढाउनु प¥यो, कहाँ–कहाँबाट आम्दानी बढाउन सकिन्छ त्यसको पहिचान गर्नुप¥यो । जबसम्म आम्दानी बढाउन सकिँदैन तबसम्म हामीले सोचेजस्तो विकास गर्न गाह्रो छ ।’
१५ नं वडा समितिका वडाध्यक्ष प्रकाश साह र स्थानीयसँग भएको छलफलमा वडाकोे सबैभन्दा ठूलो समस्या डुबान नै भएको बताएका थिए ।
वडा कार्यालयपछि मेयर कोइराला रानी स्वास्थ्य चौकीको अनुगमनमा पुगेका थिए । अनुगमनमा पुग्नु भएका मेयर कोइरालालाई सेवाग्राहीले स्वास्थ्य चौकीमा औषधि, दक्ष जनशक्तिको अभावलगायतका समस्या राखेका थिए । कतिपयले स्वास्थ्य चौकी रेफर सेन्टरमात्रै भएको गुनासो गरेका थिए । स्थानीय मेतलाल साहले सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको समस्या सनेकोप्रति सकारात्मक प्रतिक्रिया दिए । उनले दक्षिणी क्षेत्रका ३–४ वटा वडालाई सेवा दिने गरी स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाउन आग्रहसमेत गरे । सो अवसरमा सेवाग्राहीले स्वास्थ्य चौकीमा उच्च रक्तचाप र मधुमेहका औषधि नभएको गुनासो पोखेका थिए । मेयरले सम्बन्धित ठाउँमै पुगेर समस्या सुन्नुलाई सकारात्मक भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।