वर्षासँगै आत्तिन्छन् कोसी पीडित !

  • साउन २४, २०७९
  • "रासस"
alt

उदयपुरको बेलका नगरपालिका–९ स्थित सप्तकोसी नदीको पश्चिम भाग कटान भएपछि उदयपुरकै भाटे पुल क्षेत्र डुबानमा परेको छ । सप्तकोसी नदीले त्यस क्षेत्रमा लगभग दुई सय मिटर कटान गरी बस्तीतर्फ पसेको पानीका कारण त्यस क्षेत्रका मानिस अहिलेसम्म घर फर्कन सकेका छैनन् । डुबानमा परेका मानिसलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेका छन् ।

सुरक्षित स्थानबाट दिनहुँ भाटेपुल नजिकै आएर पीडित आफ्नो घर डुबेको देख्दा रोएर फर्किने गरेका छन् । कोसी नदीको पानीले अहिले डुबान गरेको त्यस क्षेत्रमा विसं २०४५ अघि कोसी नदीको मूलधार बग्ने गरेको स्थानीयवासी बताउँछन् । कोशी नदीले धार परिवर्तन गरेपछि कोसी नदी पूर्वतर्फ मूलधार भएर बगिरहेको छ । कोसी नदीले पूर्वतर्फ धार परिवर्तन गरेपछि त्यसक्षेत्रमा हजारौँ बिघा जग्गा बगरमा परिणत भयो । विस्तारै सो जग्गामा मानिसले घर बनाएर बस्न थाले ।

कोसीले मूलधार परिवर्तन गर्दा बराह क्षेत्र नगरपालिका–२ कोसी पश्चिम क्षेत्र श्रीलङ्का टापु निर्माण भयो । त्यहाँ अहिले पनि मानिस बसोबास गरिरहेका छन् । कुनै समयमा कोसी बग्ने ठाउँ अहिले मानिसका लागि जीविकोपार्जनको थलो बनेको छ । मानिसले सो क्षेत्रलाई फाँडेर खेतीपाती गर्दै आएका छन् । श्रीलङ्का टापु जान सरकारले चार वर्षअघि ८५ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरेको छ । झोलुङ्गे पुलले टापुमा बस्ने मानिसका लागि आवतजावत गर्न निकै सुविधा पुगेको छ ।

कोसी नदीले धार परिवर्तन गरेर बनेको सो क्षेत्रमा बस्ने मानिसले जग्गा उपभोग गरिरहेको भए पनि उनीहरूसँग जग्गाको धनीपूर्जा छैन । धान, मकै, तरकारीजस्ता बाली उत्पादन गर्ने किसानले रामै्र आम्दानी गर्दछन् । श्रीलङ्का टापुमा खेती गर्ने रामउदगार महतोका अनुसार अहिले पनि एकले भोगचलन गरेको जग्गा अरु मानिसलाई बिक्री गर्दा एक बिघाको रु चार लाखसम्म तिर्छन् ।

उनले निकै गरिबी अवस्थामा यहाँ आएर खेती सुरु गरेको उल्लेख गर्दै भने, “साइकलबाट सुरु गरेको यात्रा अहिले मसँग ट्र्याक्टर छन् । खेतीपाती गर्छु ।” परिवारलाई पाल्न र राम्रै आम्दानी गर्न सकेकोमा महतोले खुसी व्यक्त गरे ।

बेलका–२ सिर्जना टोल अहिले पनि जलमग्न छ । पाँच सय घरधुरी रहेको सो क्षेत्रमा नेपाली सेनाका दुई वटा बोट र सशस्त्र प्रहरीका एक वटा बोटले पानी जलमग्न भएको क्षेत्रमा प्रवेश गरी घरभित्रका सामान सुरक्षित ठाउँमा लैजाने क्रम जारी रहेको छ ।

सिर्जना टोलकी विमला कटुवालले भने, “मेरो घर चुर्लुम्म डुबेको छ, मैले पालेको कुखुरा, सुङ्गुरको अवस्था थाहा छैन । घर मात्र देखिन्छ, यहाँ भाटेपुलनिर घर चियाएर हेर्छु र फर्किन्छु ।” उनले घर छोड्नुपर्दाको पीडा अत्यन्त कष्टकर भएको बताए । “तर के गर्नु अर्को उपाय पनि छैन, अहिलेसम्म कुनै राहत पाएको छैन”, उनले भने । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उद्धार टोली दिनरात काम गरिरहेको उनले बताए ।

यस्तै पीडा पवित्रा राईको पनि छ । उनले भनिन्, “कोसीमा पानी घटबढले हाम्रो पीडा पनि त्यस्तै हुँदोरहेछ, कहिले घर फर्कन पाइएला भन्ने चिन्तामा छु ।”

प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले कोसी नदीले प्रभावित गरेको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन सय जना राहत र उद्धारमा खटिएको भन्दै आवश्यक परेमा थप जनशक्ति परिचालन गर्ने जानकारी दिए । उनले अहिलेसम्म त्यस क्षेत्रमा कुनै पनि मानवीय क्षति नभएको बताए । उनका अनुसार उद्धार टोलीको ध्यान त्यस क्षेत्रमा केन्द्रित छ, कुनै पनि अप्रिय घटना हुन नदिन सबै शक्ति लगाउने र जनतालाई उद्धार एवं मद्दत गरिने छ ।

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले कोसीको पानीबाट डुबानमा परेका मानिसलाई सेती खोला मावि, कोसी जनता मावि, सागपत्रे र खसी बाख्रा सेवा केन्द्रमा राखिएको जानकारी दिए । उनले ती स्थानमा दुई सय ५३ जनालाई दिनरात मेस सञ्चालन गरेर खाना र बासको व्यवस्था गरेको बताए ।

उनले भने, “यस क्षेत्रका करिब सात हजार मानिस आफन्तकोमा आश्रय लिएर बसेका छन्, अत्यन्त सर्तकता अपनाएका छौँ, जनतालाई थप पीडा हुन नदिन दिनरात काम गरिरहेका छौँ ।” उनले उद्धार एवं राहतमा लाग्ने सङ्घ संस्थालाई धन्यवाद दिँदै कोसीको पानी वर्षामा निर्भर रहने भएकाले वर्षासँगै यस क्षेत्रका जनताको हाम्रो मन चिसो हुने बताए ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved