धरान । स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित मेयर हर्कराज राई साम्पाङले पहिलो कार्यपालिका बैठकमा अघि सारेका एजेण्डा सर्वसम्मत हुन सकेनन् ।
राजनीतिक दलविहीन अवस्थामा निर्वाचित साम्पाङलाई राजनीतिक दलबाट आएका प्रतिनिधिको बहुमतको अवस्थामा काम गर्न नसक्ने विश्लेषण र अनुमान भइरहेका बेला मेयर साम्पाङलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ ।
मेयर साम्पाङले अघि सारेको स्थानीय नदीजन्य सामग्री उत्खनन् नगर्ने प्रस्तावमा अधिकांश कार्यपालिका सदस्यले विमत्ति जनाएका छन् । मेयर साम्पाङले कार्यसूचीको छैठौं नम्बर बुँदामा राखेको नदीजन्य सामग्री उत्खनन् नगर्ने र खोला दोहन नगर्ने निर्णयसम्बन्धमा प्रस्ताव निर्णयार्थ पेश गरेका थिए ।
धरान उपमहानगरपालिकाबाट कार्यान्वयन हुने योजना कार्यक्रम तथा सेवामा नागरिक तहबाट सहजीकरण, निगरानी सुझाव र पृष्ठपोषणका लागि निर्णयार्थ पेश गरिएको नागरिक निगरानी तथा पृष्ठपोषण संयन्त्र समितिसमेतलाई अधिकांश कार्यपालिका सदस्यहरुले विमत्ति जनाएका थिए ।
धरान ७ का वडाध्यक्ष जीवनराज सुवेदीले यस्तो समिति निर्माण गर्दा विवाद हुने र जनप्रतिनिधिमाथि हस्तक्षेप हुने भएकाले आवश्यक नभएको तर्क पेश गरेका थिए । उनले मेयरलाई आवश्यक परे सल्लाहकार समिति निर्माण गर्न सुझाएका थिए ।
विषयगत समितिलाई पूर्णता दिने विषयमा समेत पर्याप्त छलफल नगरी सबै सदस्य मनोनित गर्न नसक्ने कार्यपालिका सदस्यहरुले विचार राखेपछि संयोजक मात्र तोकिएको छ ।
धरान १५ का वडाध्यक्ष नरेश इवारमले पूर्ण समिति निर्माणका लागि समय माग गरेपछि समितिका संयोजक मात्र तोकिएको छ । सामाजिक विकास समिति संयोजकमा सिर्जना नेपाल, आर्थिक विकास समिति संयोजकमा बिनिता बज्राचार्य, सुशासन तथा संस्थागत विकास समितिमा मुरारी प्रसाद भट्टराई, पूर्वाधार विकास समितिमा अनुप देवान, वन वातावरण तथा विपद् व्यवस्थापन समितिमा लोकेन्द्रकुमार फागोलाई सर्वसम्मत चयन गरिएको छ ।
आगामि बैठकले पूर्ण समिति निर्माण गर्ने सहमति भएको छ । वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले बजेट निर्माणका लागि स्रोत बाँडफाँड र परिचालन समितिलाई प्राथमिकता दिएर विषयगत समिति निर्माणमा छलफल गरिनुपर्र्ने बताएका थिए ।
स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति नगर प्रमुख संयोजक हुने गरी उपप्रमुख, कार्यपालिका सदस्य, महिला, दलित अल्पसंख्यकको प्रतिनिधित्व हुने गरी नगर प्रमुख साम्पाङले मनोनित गरेका सदस्यहरु देवी विश्वकर्मालगायतले आफ्नो प्रतिनिधित्व फिर्ता लिएका थिए ।
सदस्यहरुले जिम्मेवारी फिर्ता लिएपछि कार्यपालिका बैठकले नयाँ सदस्य सर्वसम्मतले निर्णय गरेको थियो । समितिमा वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई प्रवीण, वडा १५ का वडाध्यक्ष नरेश इवारम, वडा १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई मनोज र कार्यपालिका सदस्य सावित्रा परियार रहने गरी समिति पुनर्गठन गरिएको छ ।
सूचना संयन्त्र समितिमा कार्यपालिका सदस्य दिनेश विश्वकर्मालाई चयन गरिएको छ ।
नगर प्रमुख साम्पाङले पहिलो कार्यपालिका बैठकलाई सञ्चार माध्यममार्फत् प्रत्यक्ष प्रसारण गर्न सञ्चारकर्मीलाई निमन्त्रणा गरेका थिए । प्रमुख साम्पाङले कार्यपालिका बैठकमा मतदातालाई धन्यावाद ज्ञापन, राजश्व परामर्श समितिमा दुई सदस्य मनोनित गर्ने, विषयगत समिति गठन सम्बन्धमा, नागरिक निगरानी तथा पृष्ठपोषण संयन्त्र समिति, सूचना संयन्त्र निर्माण समिति, नदीजन्य पदार्थ उत्खनन्, दोहन नगर्ने सम्बन्धमालगायत ८ वटा विषयलाई निर्णयार्थ पेश गरेका थिए । विविध शीर्षकमा कार्यपालिका सदस्यहरुले आआफ्ना विषय प्रवेश गराएका थिए । तर समय अभावका कारण विषयगत समितिका संयोजक, राजश्व परामर्श समितिमा मनोनयन र सूचना संयन्त्र निर्माणमा सदस्य चयन गरी बैठक समापन गरिएको थियो ।