धरान । धरान रन समुहले दशौं धरान रन नेवा च्यारेटी १० किमी २०७८ को आय–व्यय सार्वजनिक गरेको छ ।
शनिबार धरान रन समुहको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आय व्यय सार्वजनिक गरेको हो । भर्खरै सम्पन्न भएको धरान रनबाट सम्पूर्ण खर्च कटौती गरी २ लाख ३७ हजार ९ सय ७५ रुपैया फाइदा भएको धरान रन समुहका अध्यक्ष रमु राईले जानकारी दिए । फाइदा आएको रकमबाट विभिन्न सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सहयोग गरिने धरान रनले जनाएको छ । धरान रनका कार्यालयमा १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण समेत गरिएको छ । नेवा एजुकेशन फण्ड मार्फत उनीहरुलाई सहयोग गरिएको अध्यक्ष राईले जानकारी दिए । नानी तामाङ, रेविका बोगटी, लाक्पा छिरिङ शेर्पा, तारा कार्की, समर्पण राई, मनिता घतानी, नेहाम कार्की, उषा राई, अनु राई, नमुना कठैत, तोहिब अन्सारी र निर्मल थापा मगरलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । उनीहरुलाई कपि, डटपेन, ट्रयाक सुट, छाता लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।
धरान रन समुहले धरान रनका आयोजना गरी आएको फाइदाबाट १२ लाखको अक्षय कोष निर्माण गरेको र सोही कोषबाट आउने ब्याजबाट शैक्षिक क्षेत्रमा सहयोग गरिदै आएको पनि धरान रनका अध्यक्ष रमु राईले बताए ।