धरान । देशका अन्य स्थानीय तहमा सत्ता गठबन्धन दलबीच तालमेल गर्ने कुरामा असन्तुष्टि बढिरहेको समयमा धरानमा समेत तालमेल नहुने सम्भावना बढेर गएको छ ।
मुलुकको सत्ता साझेदारमा समेत सँगै रहेका पाच दलीय गठबन्धनका शीर्षस्थ नेताहरुले केही समय अगाडि स्थानीय, संघीय र केन्द्रीय निर्वाचनसम्मै तालमेल गरेर निर्वाचनमा जाने सहमति गरिसके पनि स्थानीय तहमा भने आ–आफ्नो अडानका कारण तालमेल नहुने सम्भावना बढेर गएको हो ।
धरानमा पनि पटक पटक बसेको गठबन्धनको छलफलले स्थानीय निर्वाचनमा मुख्यपद सहित अन्य पदका विषयमा निष्कर्ष विहिन बने पछि गठबन्धनको सम्भावना हटेर गएको नेपाली काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । उनल भने, ‘गठबन्धनबीच तालमेल गर्ने विषयमा पटक पटक छलफलमा बस्यौ, तर सबैको आ–आफ्नो अडानका कारण सहमति हुन सकेन । उनले पछिल्लो समय बसेको गठबन्धनको वैठकमा नेकपा माओवादी केन्द्रले नगर प्रमुखसहित वडा नम्बर ३, ४, ५, ११, १५, १७, १९ र २० वडा, नेकपा एकीकृत समाजवादीले ४, ५, ६, ११, १५ र १६ वडा राष्ट्रिय जनमोर्चाले ४ र ५ तथा जनता समाजवादी पार्टीले उपप्रमुख सहित ११, १५ र १९ वडामा नेतृत्व दावी गरेपछि चुनावी गठबन्धन हुन नसक्ने बताएका छन् ।
उनले भने, ‘काँग्रेस गठबन्धनको ठूलो दल हो, उहाँहरुले दाबी गरे अनुसार नेपाली काँग्रेसले के पाउने भन्ने हो । यसैलाई आधार मानेर हामी गठबन्धनसँग तालमेल गरेर स्थानीय निर्वाचनमा जान नै सक्दैनौं ।’
उनले गठबन्धनका कारण निर्वाचनका उमेद्वारी पठाउने काम ढिलो भएको बताए । उनले भने, ‘पहिला हामी गठबन्धनको तालमेलको टुंगो लगाऔं, त्यसपछि तयारी गरौ भन्ने थियो’ यस बीचमा काँग्रेसले प्रमुख, उप्रमुखसहित वडाको नाम सिफारिस गरेर पठाउदा नाम सिफारिस गर्ने साथीहरु व्याक हुन नमान्नु होला कि भनेर सहमतिको प्रयास गरेर पठाउन खोजेका थियौ, तर उहाहरुको अडानले तालमेलको सम्भावना नहोला जस्तो देखिएको छ ।’
धरानमा मात्र हैन सुनसरीका १२ वटा स्थानीय निकायको निर्वाचनमा सत्ता गठबन्धन दलबीच तालमेल हुने भएपछि नेपाली काँग्रेस सुनसरीका कार्यकर्ताहरुमा व्यापक असन्तुष्टि छाएको थियो । अझ तालमेल गर्ने दलहरुले आ आफनो दाबी नछोडेपछि भने काँग्रेसका कार्यकर्ता अझ रुष्ट भएका छन् ।
पाँच बर्ष अगाडि भएको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसले सुनसरीका ६ वटा पालिकामध्ये ३ र ६ गाउँपालिकामध्ये पाँचमा आफ्नो वर्चश्व कायम गरेको थियो । तर गठबन्धनका नाममा आफूहरुले वर्चस्व जमाएका स्थानीय तहहरुमा दाबी छोड्नपर्ने अवस्था आउन लागेपछि काँग्रेसका कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गर्दै तालमेल नगरी एक्लै निर्वाचनमा जानुपर्ने मत जाहेर गर्न थालेका छन् ।aa