धरान । पूर्वका पर्यटन व्यवसायीहरु कोरोनाको कहरपछि पहिलाकै लयमा फर्कन जुर्मुराउन थालेका छन् ।
विगतमा कोरोना कहरकै कारण विस्थापित हुनुपर्ने अवस्थासम्म पुगेका उनीहरु कोरोना सहज बन्दै गर्दा पर्यटन प्रवद्र्धनका कामहरुलाई निरन्तता दिँदै व्यवसायिक प्रवद्र्धनमा जुटेका हुन् ।
विगतमा थाँति रहेका पर्यटन प्रवद्र्धनका कामहरुलाई कोरोना सहज बन्दै गएपछि निरन्तता दिन थालेका हुन् । गत बर्ष हुन नसकेको इस्ट टुरिजम मार्टलाई समेत उनीहरुले निरन्तता दिएका छन् ।
धरान १२ पब्लिक स्कूलको मैदानमा भएको तीन दिने मार्टमा भारत र नेपालका पर्यटन व्यवसायी एकै ठाउमा जम्मा भएका थिए । पूर्वमा रहेका पर्यटन प्रवद्र्धनलाई भारतमा प्रचारप्रसार गर्ने र भारतमा रहेका पर्यटन स्थलको नेपालमा प्रचारप्रसार गर्दै पर्यटक आगमनको वातावरण तयार गर्ने उद्देश्यले मार्टलाई निरन्तता दिएको संयोजक भविष्य श्रेष्ठले बताए । उनले भने–‘गत बर्ष नेपालमात्र हैन संसारभरि नै कोरोनाले आर्थिक कारोबार ठप्प भयो, यसमा पर्यटन क्षेत्र झन धेरै धरासायी भयो, पहिलाकै स्तरमा पु¥याउन कठिन छ, हामी फेरि तंग्रिने प्रयासमा छौं ।’
मार्टमा भारतको सिक्किम, दार्जिलिङ लगायतका पर्यटन व्यवसायीहरुको उपस्थिति हेको थियो । यहाको धार्मिक तथा आकर्षक पर्यटकीय स्थलको जानकारी दिन पनि मार्टलाई निरन्तता दिइएको पर्यटन व्यवसायी बासुदेव बरालले बताए । उनले भने–‘लामो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय दुवै देशको संयुक्त प्रयासमा पहिलाकै अवस्थामा ल्याउने प्रयास गरेका छांै ।’ गत बर्ष कोरोना कहरका कारण धेरै पर्यटन व्यवसायी विस्थापित हुने अवस्थामा समेत पुगेको उनको भनाई छ । मार्टमा दुवै देशका पर्यटन व्यवसायीबीच भएको छलफलले पर्यटन क्षेत्र प्रवद्र्धनका लागि सहयोग पुग्ने अपेक्षा लिइएको उनले बताए ।
चैत्र ११ देखि १३ गतेसम्म सञ्चालन भएको मार्टको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरेका थिए ।