धरान । दोस्रो चौमासिकको अन्त्य सम्म पनि अनुमान गरिए अनुसार आय नभए पछि धरान उपमहानगरपालिकाले १० प्रतिशत अनुमानित आन्तरिक आय घटाउँदै विनियोजित कार्यक्रमहरु पनि कटौती गरेको छ ।
धरान उपमहानगरपालिकाको १० औं नगरसभाले नवौं नगरसभाले पारित गरेको चालु आर्थिक बर्षको विनियोजन ऐनमा अनुमान गरेको आन्तरिक आयतर्फ १० प्रतिशत घटाएको हो । सुनसरी उद्योग वाणिज्य संघको हलमा मंगलबार भएको दशौं नगरसभाको दोस्रो बैठकले विनियोजन ऐन २०७८ संशोधन गरि आयतर्फ १० प्रतिशत घटाउन गरेको प्रस्ताव पारित गर्दै विनियोजन गरिएको कार्यक्रमहरु पनि कटौती गरेको छ । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार आन्तरिक आयतर्फ अनुमान गरे अनुसार नहुने भएकोले अनुमानित आयतर्फ १० प्रतिशत घटाएर कायम गर्ने प्रस्ताव पारित भएको छ ।
नगरसभामा आन्तरिक आयतर्फबाट खर्च हुने गरि विनियोजन भएको कार्यक्रमहरु १० प्रतिशत घटाउन गरिएको प्रस्वाव पारित भएको वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिए । उनले भने,‘वडाहरुको आन्तरिक आयबाट खर्च हुने गरि विनियोजन गरिएको कार्यक्रम र नगरस्तरीय महाशाखाहरुको पनि १० प्रतिशत कार्यक्रमहरु घटाउने प्रस्ताव पारित भएको छ ।’
नवौं नगरसभाले अनुमानित आन्तरीक आयतर्फ ७७ करोड ३८ लाख ६६ हजार २ सय ५० अनुमानित आय पारित गरेको थियो । अनुमानित बजेटमा १० प्रतिशत घटि गरेर ६९ करोड ६४ लाख ७९ हजार ६२५ कायम गर्न दशौं नगरसभामा पेश भएको संशोधन प्रस्ताव पारित भएको छ । नगरसभाले आर्थिक ऐन २०७८ मा पनि संशोधन गर्दै ऐनको दफा ४ मा उपदफा ४ थप गर्न प्रस्ताव पारित गर्दै घरवहाल करमा २०७८ चैत मसान्तसम्म बुझाउदा लाग्ने जरिवाना छुट गर्ने भएको छ I
त्यसै गरि नगरसभाले उपमहानगरपालिकाको शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ पारित गरेको छ भने सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन, २०७८ पनि पारित गरेको वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिए । यस्तै, उपमहानगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता, २०७८ पनि पारित भएको छ ।