धरान/ विगत ३ वर्ष देखि भुमाफियाहरुले गिद्धेदृष्टि गाढेको महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमिसुधार तथा मालपोत कार्यालय सुनसरीले हडप्न अझै सहज बनाइदिएको छ ।
२०३४ सालमा क्याम्पसले खरिद गरी उपभोग गर्दै आएको धरान ११ स्थित स्वस्तिक चौकमा रहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गामा भुमाफियाहरुले हडप्न खोजेका थिए । विगत ३ वर्ष देखि विवाद चर्किएको मोहियानी नामसारी मुद्धा क्याम्पसको विपक्षमा फैसला गर्दै जग्गा हडप्न मालपोत कार्यालयले सहज बनाईदिएको हो ।
क्याम्पसले जग्गा खरिद गरेको समयमा मोही कायम रहेका डम्बर बहादुर घिमिरेको छोरा भनिएका यज्ञ बहादुर क्षेत्रीको नाममा नामसारी गरिदिने फैसला गरिदिएको छ । क्याम्पस प्रशासनको गैह्रजिम्मेवारीकै कारण भुमिसुधारलाई फैसला गर्न पनि सहज बनेको थियो । फैसला हुनु अघि भुमिसुधारको तारिख तथा पेशीका लागि क्याम्पसको तर्फबाट कोही पनि गएनन् । ३ पटकको पेशीमा समेत कुनै वकिल पठाउन नसक्दा भुमिसुधारले एकलौटी फैसला गरिदिएको हो । जसले गर्दा क्याम्पस प्रशासनको गैह्रजिम्मेवार रहेको प्रष्ट भएको छ ।
२०७५ मा मोहियानी हक दाबी गर्दै तत्कालिन धरान विद्युत प्राधिकरणका कर्मचारी यज्ञ बहादुर क्षेत्रीले नामसारी गराउन निवेदन दिएका थिए । यज्ञले दिएको निवेदन पछि क्याम्पस प्रशासनले पनि मोही दाखिल खारेजको निवेदन दिएको थियो । तर भुमी सुधारले भने मोही पक्षको हकमा फैसला गर्दै नामसारी गरिदिने फैसला गत असोज २५ गते नै गरेको हो । उनी डम्बर बहादुर घिमिरेकै छोरा हुन् भन्ने पनि त्यतीबेला आशंका रहेको थियो । २०३४ सालमा साविक धरान ९ (क) हाल धरान ११ स्वास्तिक चोकमा पर्ने कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा श्यामगोविन्द श्रेष्ठबाट क्याम्पसले किनेको थियो । उक्त जग्गामा त्यती बेला देखि नै शिक्षक क्वाटर र छात्रवास रहेको छ । क्याम्पसले नै अहिले सम्म जग्गाको तिरो पनि तिर्दै आएको छ ।
स्रेस्तामा मोही उल्लेख भएका डम्बरबहादुर घिमिरेको मृत्यु भइसकेको छ । मोही घिमिरेलाई त्यसबेला नै चित्त बुझाएर जग्गा किनबेच गरिएको भएपनि लगतकट्टा नगरिदा अहिले भुमाफियाहरुले जग्गा हड्प्न उनका छोरा यज्ञबहादुर क्षेत्रीलाई अघि सारेका हुन् । उक्त जग्गाको मुल्य अहिले करोडौं रुपैया पर्छ ।
भुमिसुधार तथा मालपोत कार्यालय इनरुवामा मुद्दा चलिरहेको यो बिषय केही समय मत्थर भएपनि भुमाफियाहरुले भने क्याम्पसको जग्गा हत्याउन निरन्तर चलखेल गरिरहेका थिए । एक वर्ष अघि मुद्दाको बिषयमा भुमि सुधारले जोतभोग कस्ले गरिरहेको छ भनेर सर्जमिन मुचुल्का गर्न धरान उपमहानगरपालिकालाई पत्राचार गरेको थियो ।
सोही अनुसार क्याम्पसको जग्गाको जोतभोगबारे गरिएको सर्जमिन मुचुल्काको सक्कल प्रति नै हराएको थियो । भुमिसुधारले जोतभोग कस्को छ भनेर सर्जमिन गर्न पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले २०७६ पुष १६ गते सर्जमिन मुचुल्का गरेको थियो भने १७ गते नै भुमि सुधार कार्यालयलाई सक्कल पठाएको जनाएको थियो । तर, मालपोत कार्यालयको मुद्दाको मिसिलमा सर्जमिन मुचुल्काको सक्कल एक बर्ष बितिसक्दा पनि पुगेको थिएन । पछि क्याम्पसले नै सक्कल मुचुल्का माग गरि भुमिसुधार तथा मालपोत कार्यालय पु¥याएको थियो ।
क्याम्पसको जग्गा भुमाफियाहरुलाई हडप्न सहज बनाइदिएको भन्दै स्थानीय, राजनितिक दलका नेताहरु सहित क्याम्पसका विद्यार्थी संगठनहरुले पनि विरोध जनाउन थालेका छन् । नारायण सुवेदी अध्यक्ष रहेको नेकपा एमाले धरान नगर कमिटीको सोमबार बसेको बैठकमै मालपोत कार्यालयको निर्णय प्रति आपत्ति जनाएको छ । भुमाफियाहरुले जग्गा हडप्न खोजेकोले उनीहरुको हर्कत विरुद्ध दृढतापुर्वक सामना गर्ने निर्णय गरेको जनाएको छ ।
विभिन्न सामाजिक सञ्जालमा पनि विभिन्न राजनितिक दलका नेताहरु मालपोेत कार्यालयको फैसलाको विरोध जनाएका छन् । भुमाफियाहरु सँगको मिलेमतोमा क्याम्पसको जग्गा हडप्न सहज बनाइदिएको आरोप छ । क्याम्पसकै पदाधिकारी सहित सम्बन्धित निकायका कर्मचारीहरु पनि यस मुद्धामा जोडिएको उनीहरुको भनाई छ ।
यता क्याम्पस प्रमुख दामोदर भण्डारी मालपोत कार्यालयको कमजोरी रहेको दाबी गर्छन । मालपोत कार्यालय र भुमाफियाहरुको मिलेमतोमा क्याम्पसको जग्गा हडप्न खोजेको उनको भनाई छ । उनी भन्छन्, ‘त्यसका विरुद्ध पुनरावेदनका लागि उच्च अदालत जाने तयारी गरेका छौं, जसको नाममा मोही छ, उनले कमाएको पनि छैन्, भोगचलन हामीले गरिरहेका छौं, भुमिसुधारले मागेको भोगचलनको सर्जमिन मुचुल्का पनि हामीले बुझाइसकेका छौं ।’
क्याम्पसमा दशै तिहारको बिदा शुरु भए पछि भुमिसुधारले फैसला गरेका कारण पत्र ढिलो गरि बुझेको उनको भनाई छ । उनका अनुसार क्याम्पस २१ गते देखि बन्द भएको थियो भने भुमिसुधारले असोज २५ गते फैसला गरेको थियो । भुमिसुधारले गरेको फैसला त्यति बेला बुझेको भए सरकारी कार्यालय बिदा हुँदा मुद्धा हाल्न समय पर्याप्त नहुने भएकाले ढिलाई गरि म्याद बुझेको उनी बताउँछन् । पर्याप्त डकुमेन्टहरु बुझाउँदा पनि भुमिसुधारले गलत गरेको उनको आरोप छ । व्यक्तिलाई फाइदा हुने गरि संस्थाले निर्णय नगर्ने बताउँदै क्याम्पस प्रमुख भण्डारीले क्याम्पसको जग्गा आफ्नै मातहतमा ल्याउने बताएका छन् ।
यता भुमिसुधार तथा मालपोत कार्यालयले दुई वर्ष सम्म कुनै पनि मुद्धा रोक्नु नमिल्ने भएकाले सबै प्रमाणको आधारमा मोही नामसारीको फैसला गरिएको जनाएको छ । मालपोतका सुब्बा शम्भु सुवेदीले पर्याप्त प्रमाणहरु भएकाले नै मोही नामसारीका लागि फैसला गरिएको बताए । उनले भने, ‘मोहीको नाममात्रै सरेको हो, जग्गा सरेको होइन् ।’
किनेको समयमै मोहीको लगतकट्टा कटाउनु पर्नेमा नभएकाले अहिले सम्म मोही सर्दै आएको उनको भनाई छ । उनले भने, ‘कागजपत्र अनुसार मोही संगसंगै किनेको देखिन्छ, मोही सर्दै आयो अहिले सम्म, क्याम्पसलाई पटक पटक हामीले भनेको हो, कुनै पहल नगर्दा ढिलाई भएको हो ।’ भुमिसुधारले नाम मात्रै सारिदिएको उनी बताउँछन् । उनका अनुसार जग्गा जाने नजाने भनेर चै अदालतको फैसलाले निर्णय गर्नेछ । क्याम्पसले पुनरावेदन गरेर उच्च अदालतले निर्णय गरे पछि मात्रै लागु हुने उनको भनाई छ । कार्यालयले निर्णय गरेकाले मिलेमतो देखिएको जस्तो मात्रै रहेको उनले प्रष्ट्याए ।