धरान/ विगत दश वर्ष देखि निरन्तर आयोजना हुँदै आएको देशकै धेरै धावकहरु सहभागि हुने धरान १० के रन, नेवा च्यारिटी २०७८ दशौं संस्करण आगामी फागुन ७ गते हुने भएको छ ।
धरान रन १० वर्ष पुरा भएको अवसरमा यस पटक विगतको भन्दा फरक र भव्य तरिकाले आयोजना गर्ने आयोजक धरान रन समूहले जनाएको छ । यसपालि नेपालकै धेरै धावक धाविकाहरु सहभागी गराइने छ भने जनचेतनामूलक कार्यक्रम सहित ह्विल चेयर रेस पनि आयोजना गरिने छ ।
प्रतियोगिताको दर्ता फारम शुक्रवार देखि नै खुला भइसकेको पनि आयोजकले जनाएको छ । खेलाडीहरूलाई दर्ता शुल्क ४ सय र विद्यार्थीहरूलाई ३ सय तोकिएको छ । साथै, प्रतियोगितामा १७ वर्षदेखि ३९ वर्षसम्म भित्रका खुल्ला दौडमा अघिल्लो संस्करणको भन्दा १० हजार पुरस्कार राशि वृद्धि गरिएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने धावक धाविकहरुले जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउनेछन् । १२ बर्षमुनिको समूहमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार दिइनेछ भने १२ देखि १६ वर्षसम्म भित्रकाले पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउनेछन । यस्तै, ४० वर्षदेखि माथिका भेट्रान दौडका विजेताले पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाउनेछन् । यसै गरी, ६० वर्ष माथिका धावक धाविकालाई पनि आकर्षक पुरस्कार दिइनेछ भने धरानका स्थानीय धावक धाविकालाई प्रोत्साहन स्वरूप पहिलो र दोस्रो हुने पुरुष, महिलालाई पनि आकर्षक पुरस्कार दिइने छ ।
यसैबिच धरान रन नेवा च्यारिटी एजुकेसन फण्ड मार्फत १२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । धरान १० के रन प्रतियोगिताबाट संकलित रकम पछिल्लो समय आयोजकले शिक्षाको निम्ति अक्षय कोष स्थापना गरेको छ । अक्षय कोषमा हालसम्म ११ लाख ८२ हजार रकम जम्मा भएको छ । यसपालि १२ जना मात्र विद्यार्थीहरूलाई छात्रवृत्ति दिइएको अध्यक्ष रमु राईले बताए । छानिएका विद्यार्थीहरूलाई स्वेटर, स्कुल ड्रेस, स्टेशनरी, जुत्ता, स्कुल ब्यागलगायत आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराइएको छ ।