धरान/ पछिल्लो समय सडकमा ठेलामा राखेर फास्टफुड बेच्ने प्रचलन बढ्दै गएको छ । विशेष गरि साँझको समयमा सडकका छेउछाउ ठेलामा फास्टफुड बेच्नेहरुको भिडनै लाग्ने गरेको छ ।
धरानमा पनि विगत १० वर्ष देखिनै सडकमा ठेलामा फास्टफुडको व्यापार भइरहेको छ । तर सडकका ठेलामा बिक्रि भइरहेका फास्टफुडहरु कति स्वच्छ र गुणस्तरिय छन् भन्ने विषयमा भने कसैले चासो दिएका छैनन् । सडक छेउछाउमा विक्री गरिने चाउचाउ, अन्डारोल, चाउमिन, मोमो मानिसले स्वाद मानी मानी खाने गरेका छन् । छिटो तथा सस्तो मूल्यमा सडकमै उभिएर भोक मेटाउने गरेका छन् । तर यी खाद्य सामाग्रीका शुद्धताको विषयमा कसैले अनुगमन गरेका भने पाइदैन ।
धरान १३ का सुवास श्रेष्ठले ठेलामा बनाएको सामाग्री छिटो र मिठो भएकै कारण खाने गरेको सुनाउँछन् । उनी भन्छन्, ‘स्वच्छ र शुद्धताको कुरा मलाई थाहा छैन, तर मीठो हुन्छ त्यही भएर म खान्छु ।’
सडकका ठेलामा बिक्रि गरिने फास्टफुडहरु पनि ग्राहकहरुको लोभिदै गए पनि यसको स्वच्छता तथा गुणस्तरिय प्रति स्थानीय निकाय भने मौन नै रहेको छ । सडकको धुलो, धुँवा त छँदैछ, खाजामा प्रयोग गरिने अन्य सामाग्री कतिको गुणस्तरीय छ भन्ने ग्राहकलाई पनि ज्ञान छैन् ।
सडक छेउछाउँमा ठेलामा राखेका खाद्य सामाग्रीहरु उपयुक्त नभएको पोषण तथा आहार विज्ञानका विद्यार्थीहरु बताउँछन् । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारकी पोषण तथा आहार विज्ञानकी विद्यार्थी मुना बस्नेतले बाहिर ठेलामा राखेर विक्री गरेको आहार नखाँदा नै उपयुक्त हुने बताइन् । उनले भनिन्, ‘बाहिर त्यसरी विक्री गर्ने आहार जंग फुड भन्ने गरिन्छ, यस्ता ठाउँमा तेलबाट तारेका खानेकुरा बढी हुन्छन्, धुलो धुवाले फोहोर भएको हुन्छ, तारेको तेलबाट बनेको आहार धेरै खानु नराम्रो हो, कोलस्ट्रोल हुन सक्छ ।’ उनले बाहिर बनाइएका यस्ता आहार मैदाको प्रयोग बढी हुने भएकोले पनि खान योग्य नहुने बताइन् । यसले धेरै रोगहरु निम्तिने डर भएको उनी बताउँछिन् ।
सडकमै अत्याधिक फास्डफुड बिक्रि हुन थाले पछि पछिल्लो समय धरान उपमहानगरपालकाले चासो देखाएको छ । तर नियन्त्रण गर्न भने अझै सकेको छैन् । केही दिन अघि धरान उपमहानगरपालिका वडा नं. १८ का सडक आसपासमा बसेर खाजा बिक्री गर्ने व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धी अभिवृद्धि तालिम दिएको थियो । ४० जना भन्दा बढी सडक छेउमा ठेला गरेर फास्टफुड व्यवसायीहरु सहभागि थिए । तर धरानमा करिब २ सय भन्दा बढीले सडकका छेउछाउँमा फास्टफुडको व्यापार गर्दै आएका छन् । विशेष गरि धरानको मुख्यबजार रहेको भानुचौंकमा ठेलाको व्यापार हुने गरेको छ । तर त्यही क्षेत्रका व्यवसायीहरुलाई भने खाद्य स्वच्छता तालिम दिन सकेको छैन् । अनुगमन गरेर सबै क्षेत्रका फास्टफुड व्यवसायीलाई तालिम दिनुपर्ने स्थानीयको भनाई छ । जनताको स्वास्थ्यमा प्रत्यक्ष असर हुने खाद्यहरुको अनुगमन गरि नियन्त्रण गरिनुपर्ने उनीहरु बताउँछन् ।