धरान/ धरान–६ को पानबारीमा तीन वर्षयता चोरीका २० वटाभन्दा बढी घटना भएका छन् ।रातको समयमा शृङ्खलाबद्ध रूपमा हुने चोरी पछिल्लो समय लुटपाटमा परिणत भएको छ ।
घटनामा संलग्न दोषीहरू पक्राउ पर्न नसक्नु नै यसको एकमात्र कारण भएको देखिन्छ । पानबारीमा विद्यालय, सहकारी हुँदै अहिले घरमै बसिरहेकी वृद्धासमेत लुटिएकी छन् । यसले गर्दा सुरक्षा चुनौती बढिरहेको छ । यहाँस्थित अस्थायी प्रहरी चौकीमा दरबन्दीअनुसार सुरक्षाकर्मी नहुँदा यहाँ चोरीका घटनाहरू बढ्दै गएको स्थानीयको गुनासो छ । १४ जनाको दरबन्दी भए पनि चौकीमा पाँचजना प्रहरीलाई मात्र खटाइएको छ ।
स्थानीयका अनुसार तीन वर्षअघि सरस्वती उच्च माविमा चोरी भएको थियो । विद्यालयमा रकम चोरी गर्न नपाएपछि भौतिक संरचना तोडफोड गरेर आक्रोश पोख्दै चोरहरू फरार भएका थिए । त्यसपछि चोरहरूले अन्य विद्यालयहरूमा पनि निरन्तर उपद्रो मचाउने गरेका थिए । स्थानीय निशान बचत तथा ऋण सहकारी संस्थाको सेफ तोडेर दुई महिनाअघि १५ लाख रूपैयाँ चोरी भएको थियो । अघिल्ला घटनाका दोषी पक्राउ नपर्दै बिहीबार दिउँसो घरमै बसिरहेकी एक वृद्धा लुटिएकी छन् ।
धरान-पानबारी जाने मुख्य सडकमै रहेको घरमा बसिरहेकी ७५ वर्षीया जसमाया लिम्बू लुटिएकी हुन् । भोगटे किन्ने भन्दै दुईजना अपरिचित युवा लिम्बूको घरमा छिरेका थिए । उनीहरूले चक्कु प्रहार गरी लिम्बूले लगाएकोे सुनको गरगहना लुटेका छन् । त्यस क्रममा चक्कु प्रहारबाट लिम्बू घाइते भएकी छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ ।
पानबारीमा बढ्दै गएको लागूऔषध दुव्र्यसन र सुरक्षाकर्मीको अभावले आपराधिक क्रियाकलाप नियन्त्रण थप चुनौतीपूर्ण बनेको वडा नम्बर ६ का वडाध्यक्ष भुवनसिंह बस्नेत बताउँछन् । २० हजारको हाराहारीमा जनसङ्ख्या रहेको वडामा पाँचजना प्रहरीले सुरक्षा व्यवस्थापन गर्न नसक्ने उनको भनाइ छ । पूर्वपट्टि मोरङको सिमाना र दक्षिणपट्टि चारकोसे जङ्गल पर्ने भएकोले त्यताबाट आउने व्यक्तिहरूबाट आपराधिक क्रियाकलाप हुने गरेको उनको दाबी छ ।
‘मोरङबाट आएर दुई–चारजना पक्राउ परिसकेका छन्’, उनले भने, ‘पाँचजना प्रहरी हुँदा कार्यालय रुङ्न एकजना बस्नै प¥यो, हँुदा–हुँदा कुन दिन त प्रहरी कार्यालयकै सामान चोरी होलाजस्तो लागिरहेको छ ।’ यो सबैको कारण जनशक्ति अभाव नै हो ।
सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि कुनै सुनुवाई नभएको वडाध्यक्ष बस्नेत बताउँछन् । जनशक्ति कम भएपछि अपराधीहरूको मनोबल बढ्दै गएको उनको भनाइ छ । ‘अहिलेसम्म कोही पनि पक्राउ पर्न नसकेकाले को हो, कहाँको हो, केही भन्न सक्ने अवस्था छैन’, उनले थपे, ‘दुव्र्यसनीको सङ्ख्या बढेकोले पनि सुरक्षा चुनौती बढेको हो ।’ दुई जिल्लाको सिमाना नजिकै भएको, दुव्र्यसनीहरूको चहलपहल बढेको र जङ्गल छेउमै भएकोले चोरीका सामान ओसारपसार गर्न सहज भएको बस्नेतको बुझाइ छ । बढ्दै गएका चोरीका घटनालाई आधार मानेर धरानकै मूल्याङ्कन गर्न नहुने धरानको इलाका प्रहरी कार्यालयका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेत बताउँछन् ।
घटनामा संलग्न दोषीहरूको अनुसन्धान भइरहेको उनले बताए ।