विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफू चढ्ने गाडीमा संधै अक्सिजनको सिलिन्डर बोकेर हिंड्छन । पीपीई सेट, पीसीआर किट र स्वाब संकलन गर्ने सामग्री पनि साथै हुन्छ । कोरोना संक्रमणसंगै विराटनगरमा संक्रमित थपिने क्रम वृद्धि हुँदा अक्सिजनको माग समेत बढ्न गएको छ ।
‘होम आईसोलेसनमा बसेकाहरुलाई अक्सिजन चाहिंदा टेलिफोन आउनासाथ पु¥याउन सहज होस भनेर एक दुईवटा सिलिण्डर गाडीमै राखेको छु,’ मेयर पराजुलीले भने, ‘शारीरिक रुपमा अशक्त, ज्येष्ठ नागरिक र संकलन केन्द्रसम्म पुग्न नसक्ने संभावित कोरोना संक्रमितको स्वाब संकलन गर्न चाहिने सामग्री पनि गाडीमा राख्ने गरेको छु, आवश्यक पर्नासाथ स्वास्थ्य प्राविधिक समेत ल्याएर स्वाब लिने व्यवस्था गरेका छौं ।’
१ नम्बर प्रदेशको राजधानी विराटनगरमा मात्र संक्रमितको संख्या ६ हजार नाघिसकेको छ । अस्पताल र होमआईसोलेसनमा बसेकाहरुलाई समेत अक्सिजन आवश्यक पर्न थालेपछि यसको मागसंगै खपत पनि बढ्न गएको हो ।
अक्सिजन ग्यासको खपतमा अध्याधिक वृद्धि भएसंगै यसको माग धान्न उत्पादकलाई समेत हम्मेहम्मे पर्न थालेको छ । कोरोना संक्रमितको श्वासप्रश्वासमा एक्कासी समस्या आउँदा तुरुन्त चढाउन अक्सिजनको माग बढ्न पुगेको उत्पादकको भनाई छ ।
हिमाल अक्सिजन प्रा.लि.का व्यवस्थापक केदार श्रेष्ठ अहिले अस्पतालहरुमा अक्सिजनको माग विगतको तुलनामा तीन गुणासम्म बढेको बताउँदै भन्छन्, ‘कोरोना महामारी अघि यति माग थिएन तर अहिले संक्रमित समेत बढ्न पुगेपछि मागमा चाप परेको हो भन्ने हाम्रो ठम्याई छ ।’ उद्योग संगठन मोरङका अनुसार १ नम्बर प्रदेशमा अक्सिजन उत्पादक पाँच उद्योग छन । ती उद्योगबाट दैनिक करिब ४५ हजार सिलिण्डर अक्सिजन उत्पादन हुन्छ ।
उत्पादन क्षमता अझ बढाउन सक्ने भएपनि सिलिण्डरको भने अभाव रहेको उद्योगले जनाएका छन । बजारमा गएका र अहिले उपभोक्ताले व्यक्तिगत रुपमा लगेका सिलिण्डरहरु पनि फर्कन समय लाग्दा भने ग्यास भर्न विलम्ब हुने गरेको छ । विराटनगरमा उपभोक्ताले आफूलाई आवश्यक परे अनुसार बिक्री गर्ने डिलरहरुबाट सिलिण्डरको धरौटी रकम राखेर समेत अक्सिजन खरिद गर्न सक्ने बताइन्छ ।
विराटनगरमा होम आईसोलेसनमा बस्नेहरुको लागि अक्सिजन सिलिण्डर स्वयम्सेवी रुपमा उपलब्ध गराइँदै आएको छ । यही अभियानमा सक्रिय नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपाने अक्सिजनको माग बढ्दै जाँदा त्यसो आपूर्ति मिलाउन समेत कठिनाई हुन थालेको बताउँदै भन्छन्, ‘हामीले आकस्मिक रुपमा अक्सिजन चाहिने संक्रमितलाई सिलिण्डर सहित घर घरमै लगेर व्यवस्थापन गरिदिने गरेका छौं ।’ अहिले होमआईसोलन बस्ने संक्रमितहरुलाई समेत श्वास प्रश्वासमा समस्या हुने थालेपछि अक्सिजनको माग बढ्न थालेको न्यौपानेको बुझाई छ ।
विनायक अक्सिजन प्रा.लि. सोनापुर सुनसरीका प्रवक्ता तारा अधिकारी चीनबाट एक कन्टेनर सिलिण्डर मगाउन १ करोड ५० लाख रुपैयाँ पर्ने बताउँदै भन्छन्, ‘प्रयोगमा पठाइएका अक्सिजन सिलिण्डर उद्योगसम्म फर्केर आउन ढिलाइ हुँदा पनि अहिलेको माग धान्न कठिन भएको छ । तत्कालै सिलिण्डर थप्न सक्ने अवस्था पनि छैन ।’ उनले प्रयोग भईसकेको अथवा प्रयोगमा नआएका सिलिण्डर तुरुन्त फर्काउने तर्फ सबैले ध्यान दिनुपर्ने बताउँछन ।
उद्योगीका अनुसार हिजोआज कोरोना संक्रमित भएका सर्वसाधारणले समेत जोहो गरेर घर–घरमा अक्सिजनका सिलिण्डर राख्न थालेका छन । कोसी अस्पताल विराटनगरका चिकित्सक लक्ष्मीनारायण यादवका अनुसार कोरोना संक्रमितहरुलाई श्वासप्रश्वासमा समस्या परे तुरुन्त अक्सिजन चाहिन्छ । त्यही भएर पनि जीवन बचाउने प्राणवायूको रुपमा लिइने अक्सिजन तुरुन्तै दिन शुरु गर्नुपर्छ । चिकित्सक यादव भन्छन्, ‘कोरोनाका कारण संक्रमण बढ्दा कतिपय संक्रमितको शरीरमा अक्सिजनको मात्रा घट्ने गर्दछ । यस्तो अवस्थामा अक्सिजन दिन शुरु गर्नुपर्छ ।’