धरान/ किरात राई समुदायले वैशाख पूर्णिमादेखि सुरु भएको महान पर्व साकेला उभौली यस वर्ष पनि उल्लासपूर्वक मनाएका छन् ।
राई समुदायभित्रको एक विशेष शाखा किरात सुच्चा राईले पञ्चमी तिथिमा पितृको सम्झनामा थान पूजा गरी धार्मिक विधिअनुसार पर्व मनाएका छन् ।
धरान–११ मा रहेको सुच्चा राई कल्याण समाजको भवन परिसरमा सामूहिक पूजा आयोजना गर्दै आफ्ना सुच्चा पितृलाई सम्झेका हुन् ।
ढुगा र रुखको थानमा ‘होमेबाजे’ (पुजारी बाजे) द्वारा विधिपूर्वक पूजाआजा गरि २ सय भन्दा बढी कुखुराको बलि दिदै आफ्ना पितृहरुलाई सम्झदै पुजा गरेका हुन् । धरान लगायत विभिन्न जिल्लाका करिब ३ सय ८० जना सुच्चा राई परिवारको उपस्थिति रहेको थियो ।
पूजामा भाले बलि दिने, पितृको नाममा सामग्री तर्जुमा गर्ने, तथा जमिन्दार र जमिन्दार्नीलाई पुकारेर बाली–नाली सप्रियोस् भनी कामना गर्ने परम्परागत विधिहरू पालना गर्दै आर्शिवाद लिएको समाजका उपाध्यक्ष विनोश राईले जानकारी दिए ।
पितृ सुच्चाले अजम्बरी शक्ति प्राप्त गरेको सुच्चा राईहरुको धार्मिक विश्वास रहेको छ ।
वर्षमा एकपटक उभौली पर्वका अवसरमा सामूहिक रूपमा कुलपूजा गरी आशीर्वाद लिने परम्परा रहेको उपाध्यक्ष राईले बताए । यस्तै अवसरमा साकेला सिलि नाचगान गर्दै संस्कारलाई जोगाउन लागि परेको उनको भनाइ छ ।
नेपालमा अधिकांश सुच्चा राईहरू धरानको २० नम्बर वडामा बसोबास रहेको छ । उनीहरूको मूलथलो भोजपुरको कटुन्जे रहेको जनाइएको छ ।
हाल धरानमा सुच्चा राईका करिब २ सय घरधुरी रहेको छ भने नेपालभर करिब ५ हजार घरपरिवार रहेको छ ।
यसै अवसरमा श्री सुच्चा राई कल्याणकारी समाजको संयोजनमा तथा धरान सिटी हस्पिटलको प्राविधिक सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो ।
शिविरमा सुगर, प्रेसर, थाइराइड, बालरोग र स्त्रीरोग सम्बन्धी जाँच तथा निशुल्क औषधि वितरण गरिएको थियो । करिब ४० जनाले स्वास्थ्य सेवाको लाभ लिएका थिए ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्यद्वय क्षेत्र नं. १ (१) का सांसद रमेश कुमार बस्नेत, र क्षेत्र नं. १(२) का सांसद विजय कुमार राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन समाजका अध्यक्ष बिनोद राईले संचालन गरेका थिए भने समाजका स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो ।
तस्बिरहरू :