धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
हरिनगर गाउँपालिकाको वडा नम्बर ५ स्थित घुस्की बसन्तपुर सडकखण्डमा चेकजाँचको क्रममा एउटा मोटरसाइकल सहित अवैध लागुऔषध डायलेक्स २० बोतल र एमआइ लेखिएको २ थान मोबाईल बरामद गरेको छ ।
प्रहरीको अनुसार घुस्की बसन्तपुरबाट खटिएको प्रहरीको टोलिले हरिनगर ५ बस्ने वर्ष २१ का मकरम अन्सारीले चलाएको ना १८ प ४०४८ नम्बरको मोटरसाइकलमा सवार हरिनगर ६ बस्ने साहुदिन जट र भारतको अररिया जिल्ला ग्राम पंचायत पथराहा २ बस्ने मो. अंजुरलाई पक्राउ गरेको छ ।
उनीहरुलाई चेकजाँच गर्ने क्रममा सर्ट भित्र लुकाई छिपाई राखेको अवश्थामा लागुऔषध पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको जनाएको छ ।
त्यस्तै देवानगंज गाउँपालिकाको वडा नम्बर २ बाट पनि डायलेक्स ९९ बोतल बरामद गरेको छ । विशेष सुचनाको आधारमा गएको प्रहरीको टोलिले देवानगंज बस्ने वर्ष २२ का शिवशंकर यादवले बोको झोला भित्र राखेर ल्याउँदै गरेको अवश्थामा प्रहरीले पक्राउ गरेको हो । उनलाई पनि अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जनाएको छ ।