धनकुटा, ७ भदौ ÷बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् । एउटै बालिकालाई पालो–पालो बलात्कार गरेको आरोपमा एक युवा र परिवार भित्रैकौ नै हाडानाता पर्नेलाई बलात्कार गरेको आरोपमा अर्का युवालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।
धनकुटा नगरपालिका–१ निगालेकी १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ बर्षीय बिमल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले बताए । सोही बालिकालाई बलात्कार गरेको आरोपमा गत बुधबार निगालेकै १९ बर्षीय निकेश तामाङलाई प्रहरीले पक्राउ गरी सकेको थियो । ती बालिकालाई निकेशले साउन २७ गते गाउँकै खाँली घरमा लगेर बलात्कार गरेको र त्यसको भोलिपल्ट बिमलले पनि उनैलाई बलात्कार गरेको आरोप छ ।
निकेशले ती बालिकासँग शरिरीक सम्पर्क भएको कुरा बिमललाई सुनाएपछि उनले पनि भोलिपल्ट जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बालिका राति पनि घरमा नआएपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य खुलेको थियो । घटनाको ९ दिनपछि निकेश र ११ दिनपछि बिमल पक्राउ परेका हुन् । मुलुकी अपराध संहिता–२०७४ मा १८ बर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै शारिरिक सम्पर्क गरेपनि जबरजस्ती करणी गरेको मानिने र १४ बर्षदेखि १६ बर्ष भित्रका बालिका करणी गर्नेलाई १२ बर्षदेखि १४ बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
यता हाडनाता करणी आरोपमा धनकुटाको पाख्रीबासबाट एक युवक पक्राउ परेका छन् । परिवार भित्रकै महिलालाई बलात्कार गरेको आरोपमा १८ बर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंमा बसेका बेला करिब ११ महिना अघि उनले आफन्तलाई जबरजस्ती करणी गरेको आरोप छ ।
आरोपितलाई पक्राउ गरी काठमाडौंको कालिमाटीस्थित महानगरीय प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । काठमाडौमा नै घटना भएको र उतै मुद्दा दर्ता भएकाले उनलाई पक्राउ गरी पठाइएको हो । परिवार भित्रैकै घटना भएकाले पीडकको परिचय खुलाउँदा पीडितको परिचय पनि खुल्ने हुनाले प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखेको छ ।