विराटनगर । मोरङको रंगेलीमा पसल खोल्ने विषयमा विवाद भएपछि प्रहरीले लाठीचार्ज गरेको छ । लकडाउनलाई रंगेली क्षेत्रमा कडाई गरिंदै आएको छ । लाठीचार्जपछि आक्रोसित भएका स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन् ।
मोरङको रंगेली नगरपालिका वडा नम्बर ५ का स्थानीयले आमगाछीमा अवस्थित प्रहरी चौकी (ख) घेराउ गरेका हुन । पसल खोलेको विषयमा विवाद भएको बताइएको छ ।
स्थानीय सुरेन्द्र मण्डलका अनुसार लाठी लागेर केही स्थानीयलाई टाउकोमा समेत चोट लागेको छ । उनले भने,“अन्धाधुन्ध लाठी हान्न थालेपछि हामीले पनि विरोध गरेका हौं ।” झडपको अवस्था आउँदा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) सन्तोष यादवको टाउकोमा समेत चोट लागेको बताइएको छ ।
रंगेली क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नगरपालिकाले लकडाउन गर्दै आउजाउमा कडाई गरेको छ । बजार खोल्न समेत कडाई गरिएको छ ।