धरान । बाह्र वर्ष अघि कर्तव्य ज्यान मुद्धामा फरार रहेका सुनसरीको दुइ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरि कैद भुक्तानका लागि जिल्ला अदालत बुझाएको छ ।
जिल्लाको साविक एकम्बा गाउँपालिका वडा नम्बर ४ का सुरेन कुमार ठाकुरको हत्या गरेको आरोपमा बक्लौरी ६ का तुलसी चौधरी र टाइसन भन्ने मिङमा दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरि अदालत बुझाएको छ । चौधरी र शेर्पाले २०६४ साल वैशाख २८ गते सुनसरीको चाँदवेला गाविस स्थित वडा नम्बर ७ मा एक विवाह घरमा छुरा प्रहार गरि हत्या गरेका थिए । दोषिद्वयलाई जिल्ला अदालतले २०७१ साल साउन २६ गते कैदको फैसला सुनाएको थियो । अदालतले चौधरीलाई २१ वर्ष ६ महिना र शेर्पालाई २० वर्षको कैद सजाय तोकेको थियो ।
कैद भुक्तान नभई फरार रहेका शेर्पालाई साउन २६ गते रामधुनी नगरपालिका ६ बाट पक्राउ गरेको थियो भने चौधरीलाई धनुषाको ढल्केबर देखि पिछा गर्दै आएको अवश्थामा इनरुवाबाट पक्राउ गरेको हो । उनीहरुलाई अदालतको आदेश बमोजिक कैद भुक्तानका लागि झुम्का कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।