विराटनगर । सनराइज बैंक विराटनगर शाखामै विषपान गरी आत्महत्या गरेकी कर्मचारीले बुबाआमालाई सम्बोधन गरी ‘सुसाइड नोट’ लेखेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनले बैंकमा बुबाको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र आफ्नो नाममा बैंक तथा वित्तीय संस्थामा शेयर रहेको समेत उल्लेख गरेकी छन् ।
बुधबार दिउँसो सनराईजमा कार्यरत विराटनगर–८ सहयोगी टोलकी ३० वर्षीया सनाज खतिवडा बेहोस भेटिएकी थिइन । त्यहाँ मुसा मार्न प्रयोग हुने विषादीको बट्टासमेत भेटिएको थियो । उनी बैंकको वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत थिइन ।
विषादी सेवनका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्कि अनुमान छ । उनले ब्लेडले आफ्नो देब्रे हातसमेत काटेको पाइएको थियो । दुबै बस्तु प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता डीएसपी मानबहादुर राईले ‘सुसाइड नोट’ लेखेर ब्लेडले हात काट्दै विष पिएर आत्महत्या गरेको देखिन्छ । ‘आफ्नै कारणले मरेको र यस घटनामा कसैलाई पनि दोष नदिन’ सुसाइड नोटमा लेखिएको प्रहरीले जनाएको छ । एक साताअघि पनि ती युवतीले आत्महत्या गर्ने प्रयास गरेको प्रहरीमा जानकारी आएको बताइएको छ ।