धनकुटा, १६ असार ÷कोशी राजमार्ग अन्तरगत धरान धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा ट्रक दुर्घटना हुदाँ ट्रक चालकको मृत्यू भएको छ ।
विराटनगरबाट फलाम, रड लगायतका सामान बोकेर संखुवासभातर्फ जादैं गरेको को.१ ख ४३६६ नम्बरको ट्रक गएराति ९ बजे अनियन्त्रित भई अचानक दुर्घटना हुदाँ ट्रक चालक २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए । ट्रकका सहचालक तथा गाडी मालिक मानबहादुर कार्की भने सामान्य घाईते भएका छन् । उनी अहिले भेडेटार प्रहरी चौकीको नियन्त्रणमा रहेका छन् । दुर्घटनामा मृत्यू भएका चालक श्रेष्ठको लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याउने तयारी भईरहेको छ ।
अनियन्त्रित भई ट्रक पल्टिँदा सडक छेउमा रहेको स्थानीय अर्पणा लिम्बूको घर किचेको छ । ट्रकले घर किच्दाँ लिम्बूको १२ वर्षीया छोरी अजुनु लिम्बू सामान्य घाईते भएकी छिन् ।
उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । उक्त दुर्घटनामा परेको ट्रकले घर किचेर करिब ५० मीटर तल खसेको छ । ट्रकले घर किच्दाँ करिब ७ लाख बराबरको क्षति भएको डिएसपी श्रेष्ठले बताए । ट्रक दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । फलाम सहितको ट्रकलाई क्रेनको सहयोगमा भीरबाट बाहिर निकाल्ने प्रयास भईरहेको पनि प्रहरीले बताएको छ ।