धनकुटा/ धनकुटाको पाख्रीबास नगरपालिकाले कफी खेतीलाई व्यवसायिक रुपमा अघि बढाउने भएको छ ।
चालु आर्थिक वर्षदेखि शुरु गरेको कफी खेतीको लागि नगरपालिकाले निति तथा कार्यक्रममा नै कफी पकेट क्षेत्र घोषणा गरेर आर्थिक वर्ष २०७७/०७८ मा छुट्टै शिर्षक बनाएर बजेट विनियोजन गरेको छ । यस बर्ष नगरपालिकाले नर्सरी व्यवस्थापनामा करिब पाँच लाख बिरुवा उत्पादन गर्ने गरी १० लाख रुपैयाँ विनियोजन गरेको छ । नगरका अधिकांश क्षेत्रमा कफी खेती गर्न सकिने भएकाले यसलाई प्राथकितामा राखिएको पाख्रीवास नगरपालिकाका प्रमुख बिर्ष बहादुर राईले बताए । उनले भने–‘नर्सरीबाट बिरुवा उत्पादन हुन करिब १५ महिना लाग्छ । १५ महिना पछि पहिलो चरणमा पाख्रीवास नगरपालिका क्षेत्रका कृषकको बारीमा करिब पाच लाख कफीको बिरुवा रोपिने छन् ।’
नगरपालिकाले करिब तीन बर्ष भित्रमा सम्पुर्ण क्षेत्रमा कफी खेती बिस्तार गरी सक्ने र पाँच बर्ष पछि पुर्ण रुपमा उत्पादन लिन थाल्ने लक्ष्य राखेको छ । यसले कृषकहरुलाई आर्थिक रुपमा फाइदा पुग्नुको साथै कृषि पर्यटनलाई समेत टेवा पुग्ने नगर प्रमुख राईले बताए । नगरपालिकालाई यो अभियान सञ्चालन गर्न तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटा हिलेले सहजीकरण गरी रहेको छ ।
तेखिमे कृषि परामर्श सेवा फर्मले केही महिना अघि गरेको आधार रेखा सर्वेक्षणमा पाख्रीबास नगर क्षेत्रको करिब ८० प्रतिशत भू–भागमा कफी खेती गर्न सकिने प्रतिवेदन तयार गरेको थियो । फर्मका अध्यक्ष तथा कृषि अभियान्ता जीवन राईका अनुसार नेपालमा खेती हुने अरबिका जातको कफी खेती करिब ६ सय मीटर उचाईदेखि १६ सय मीटरसम्म गर्न सकिन्छ । पाख्रीवास नगरपालिका क्षेत्रमा मात्रै वार्षिक करिब १ करोड ५० लाख किलो प्रशोधित कफी उत्पादन गर्न सकिने कृषि अभियान्ता राईको भनाई छ ।
यो खेती मिश्रित रुपमा गर्न सकिन्छ । कफीलाई छहारीको रुपमा एभोकाडो, तेजपत्ता, सजीवन लगायतका खेती गर्न सकिन्छ । त्यस्तै कफी भित्र बेसार, अदुवा लगायत विभिन्न जडिबुटीको समेत खेती गर्न सकिन्छ । कषकले कफीसँगै एभोकाडो, अदुवा, बेसार लगायतका खेतीबाट समेत अतिरिक्त आम्दानी लिन सक्ने छन् । एक रोपनी क्षेत्रफलमा एक पटकमा तीन सय किलो ग्रीनबिन अर्थात् प्रशोधित कफी उत्पादन गर्न सकिन्छ । कफीको अहिलेको बजार मुल्य ८३ रुपैयाँ प्रति केजी रहेको छ । धनकुटामा अहिलेसम्म कफीको व्यवसायिक रुपमा खेती हुन सकेको छैन ।