धरान । लागुऔषध गाँजा सहित जंगली जनावरको अंग लुकाई छिपाई धरान ल्याउँदै गएको अवश्थामा इलाका प्रहरी कार्यालय धरानले टेम्पो सहित ३ जनालाई पक्राउ गरेको छ ।
मंगलबार धरान उपमहानगरपालिका वडा नम्बर २० स्थित एक्लेवर चौतारा नजिक चाँदी बजारबाट धरान तर्फ आउँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोको सिट मुनी लुकाई छिपाई ल्याउँदै गरेको अवश्थामा दुई पोकामा रहेको २ सय ४५ ग्राम गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ वटा, जंगली जनावर घोरलको सिंग जस्तो देखिने ४ थता, कस्तुरीको सिंग जस्तो देखिने २ थान सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान ११ बस्दै आएका ट्याम्पो चालक वर्ष २९ को नन्दीमान राई, सोही ठेगाना भएका वर्ष १९ का दिनेश भन्ने सबिन राई र वर्ष २० का सागर राई रहेका छन् ।
उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बरामद भएका जंगली जनावरको सिंग, पंक्षीको प्वाख आवश्यक अनुसन्धानको लागि सेक्टर वन कार्यालय पाँचकन्या धरानमा बुझाइएको छ ।