धनकुटा / अविरल बर्षाका कारण पहिरो गएर अरुण नदीको केही भाग थुनिन गई जोखिम बढेकाले नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
संखुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नं. २ र ५ को सिमाना पर्ने कास्वा र अरुण मिसिने दोभानको ओयाङ भन्ने स्थानमा पहिरो गएर अरुण नदीको केही भाग थुनिन गई जोखिम बढेकाले नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन प्रशासनले आग्रह गरेको हो । संखुवासभाका प्रमुख जिल्ला अधिकारीसँग भएको टेलिफोन जानकारी अनुसार अरुण नदीमा झरेको पहिरोले नदी अवरुद्ध भई जुनसुकै बेलामा पनि क्षति पुर्याउन सक्ने भएकाले सचेत र सर्तक रहन नदी तटिय क्षेत्रका सर्वसाधारण नागरिकहरुलाई सर्तक रहन सुचना जारी गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए ।
जिल्ला प्रशासन कार्यालय धनकुटाद्धारा आज जारी सुचनामा पहिरोको कारण नदी अवरुद्ध भई धनकुटाका महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिका, सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न वडाहरुका नदी तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा कुनै पनि समय विपत तथा जोखिम हुन सक्ने भएकाले उच्च सकर्तकता अपनाउन आग्रह गरिएको छ । वर्षात्को समयमा नदी किनारमा नजान, माछा मार्ने, पौडी खेल्ने जस्ता कुनै पनि कार्य नगर्न प्रमुख जिल्ला अधिकारी विमलीद्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ । संखुवासभाको ओयाङ भन्ने स्थानमा आज विहानदेखि गएको पहिरोले नदीको केही भाग पुरिएको छ ।