सुनसरी । कोशीटप्पु बन्यजन्तु आरक्षमा पर्यटक भित्रियाउने सम्भावना बोकेको सिमसार क्षेत्रको संरक्षण गर्न सफाईको काम सुरु गरिएको छ ।
मध्यवर्ती तथा सिमसार क्षेत्रमा पर्ने पूर्वी तटबन्धको छेउमा जलकुम्भीको कारणले सुक्ने अवस्थामा पुगेको र ओझेलमा परेको सिमसार सरसफाईमा सुनसरीको कोशी गाउँपालिकाको कार्यालयले ध्यान दिएको हो ।
जिल्लाको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, मधुवन देखी कोशी गाउँपालिकाको पश्चिम कुशाहा, श्रीपुर र हरीपुरसम्मको सीमसार क्षेत्र मध्ये कोशी गाउँपालिका ३ नम्बर वडा क्षेत्रमा पर्ने सीमसारको सरसफाई थालेको गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत रोजगार पाएकाहरुलाई परिचालन गरेर सिमसार क्षेत्रको सरसफाईको काम गरिएको अंसारीले बताउनुभयो ।
आरक्ष प्रशासनले सिमसार संरक्षणमा ध्यान नदिएको र दिनप्रतिदिन सिमसार मासिने , नासिने र सुक्ने क्रम बढेकाले गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत रोजगार पाएकाहरुलाई परिचालन गरेर सिमसार क्षेत्रको सरसफाईको काम गरेको वहाँको भनाई छ ।
सिमासर क्षेत्रको अस्तित्व नै संकटमा परेको देखेर गाउँपालिकाले राम्रो कामको सुरुवात स्वरुप एकातिर बेरोजगारहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत रोजगार पनि दिने र अर्कोतिर रोजगार पाएकाहरुलाई परिचालन गरेर सिमसार क्षेत्रको सरसफाई गरि पर्यटक भित्रियाउन सहज पार्ने काम गरेको कोशीका स्थानीय ललित यादवले बताउनुभयो ।