एक दलित बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
धनकुटा नगरपालिका–६ आत्माराकी एक बालिकालाई यौन शोषण गरेको आरोप लागेका चार जना मध्ये तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । चार मध्ये एक जना फरार छन् । दलित बालिकालाई लामो समयदेखि धनकुटा नगरपालिका–६ का मदन अधिकारी, गौरी अत्री, धनकुटा सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरले ललाई फकाई गरी यौन शोषण गर्दै आएका थिए ।
यौन शोषणबाट पीडित बालिकाको अस्वभाविक रुपमा पेट बढ्दै गएपछि परिवारले सोधखोज गर्ने क्रममा बालिकाले ती चार जना व्यक्तिहरुको नाम लिएकी थिईन् । चार जनाले बालिकालाई ललाई फकाई गर्दै यौन शोषण गरेको खुलेपछि स्थानीयको पहलमा जिल्ला प्रहरी कार्यालय धनकुटामा जेठ १ गते उजुरी दर्ता भएको थियो । सोही उजुरीको आधारमा चारै जना विरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तरगतको मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडी बढाएको डिएसपी श्रेष्ठले बताए ।
आरोपित मध्ये अधिकारी धनकुटा नगरपालिका–६ स्थित माथिल्लो गोकुण्डेश्वर माविका शिक्षक हुन् । त्यस्तै श्रेष्ठले सिरानबजारमा खाजा पसल सञ्चालन गर्दै आएका छन् भने अत्री स्थानीय व्यवसायी हुन् । घटना बाहिर आएपछि तीन दिन अगाडी स्वास्थ्य चेकजाँच गर्ने क्रममा ती बालिका गर्भवती भएको खुलेको थियो । बालिका अहिले जिल्ला अस्पतालमा नै स्वास्थ्यकर्मीको निगरानीमा रहेकी छिन् । विपन्न परिवारकी दलित बालिकाको आमाको पहिले नै मृत्यू भईसकेको छ भने उनको बुबाले अर्को विवाह गरेका छन् ।