राहत वितरणमा विवाद भए पछि सिराहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरियामा सोमबार भएको प्रहरी सँगको झडपमा डिएसपी सहित ४ जना प्रहरी र २ जना स्थानीय घाइते भएका छन् ।
सोमबार दिउँसो राहत वितरणमा नाम टिपाएकाहरु नआए पछि आउनेहरुले विवाद गरे पछि झडप भएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुप्रसाद जैसवारले दिएको जानकारी अनुसार १ सय ४१ जनाको राहत वितरणका लागि नामलिष्ट रहेकोमा १ सय ३२ जनाले लिए पछि बाँकी नआएको भन्दै नाम लिस्ट नभएकाहरूले विवाद गर्दा झडप भएको थियो ।
झडप नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । घाइतेहरू सबैको मिर्चैया स्थित अस्पतालमा उपचार भइरहेको छ । लकडाउनबाट समस्यामा परेका गरिब विपन्नहरूलाई नदिई अरूलाई राहत बाँडेको भन्दै विवाद भएको थियो ।
राहत नपाएका स्थानीयहरूले राहत माग्दै वडा कार्यालय परिसरमा धर्ना दिएपछि प्रहरीको सहयोगमा राहत वितरण सकेर जान लाग्दा वडाध्यक्ष सहित जनप्रतिनिधिको समूहमाथि स्थानीयहरूले ढुंगामुढा गरेपछि झडप भएको डिएसपी जैसवारले बताए ।