नेपाल प्रहरीले यतिबेला एउटा विशेष टोली बनाएर देशभर संक्रमित भएका घटनाहरुको विस्तृत अनुसन्धान गरिरहेको छ । प्रहरीका एक डीएसपीको नेतृत्वमा रहेको टोलीले वीरगञ्ज र उदयपुरमा संक्रमण पुष्टि भएकाको पुरानो यात्रा विवरण समेत भारतीय पक्षसँग मागेर अनुसन्धान गरिरहेको छ ।
प्रहरीको केन्द्रीय हेल्थ कमाण्डका एक उच्च अधिकारीका अनुसार यो टिमले सम्बन्धित जिल्लाको प्रहरीसँग समन्वय गरेर संक्रमितहरुको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ खोतल्ने जिम्मेवारी दिइएको बताए ।
यो टिम आफै फिल्डमा खटिनुको साथै संक्रमितहरुसँग प्रत्यक्ष भेटेर संक्रमणको बिषयमा अनुसन्धान गर्नेछ ।
पहिलो चरणमा सप्तरी, वीरगंज र उदयपुरको घटना सम्बन्धित केशमा टिमले काम गरिरहेको बताइएको छ । मुख्यत यी तिन जिल्लामा भेटिएका संक्रमितसँग प्रहरीले वास्तविक ट्राभल हिस्ट्री निकाल्ने प्रयासमा छ ।
सप्तरीमा सम्पन्न भएको इज्तिमा सहभागीहरुबाट संक्रमण फैलन सक्ने मुख्य आधार बनाएर काम भइरहेको जनाइएको छ ।