धरान/ लागुऔषध दुर्व्यसनमा फसेका महिलाको उपचार, सुधार र पुनर्स्थापनाका लागि कोशी प्रदेशमै पहिलो पटक धरानमा छुट्टै आवास गृह निर्माण हुने भएको छ।
धरान–६ पानवारीस्थित आसरा सुधार केन्द्रले करिब ३ करोड रुपैयाँको लागतमा तीनतले महिला पुनर्स्थापना गृह निर्माण गर्न लागेको हो।
प्रस्तावित भवनको बिहीबार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले शिलान्यास गरेका छन्। महिला दुर्व्यसनीलाई सुरक्षित, मर्यादित र लैङ्गिकमैत्री वातावरणमा उपचार तथा पुनर्स्थापना सेवा उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गर्न लागिएको हो।
शिलान्यास कार्यक्रममा डीआईजी खनालले लागुऔषध दुर्व्यसनमा फसेका सबै व्यक्तिलाई कारबाही गरेर मात्रै समस्या समाधान नहुने बताए। दुर्व्यसनमा फसेका कतिपय व्यक्ति आफैँ पनि पीडित हुने भएकाले उनीहरूलाई उपचार र पुनर्स्थापनामार्फत समाजमा फर्काउनु प्रहरी, समुदाय र राष्ट्र सबैको साझा उद्देश्य हुनुपर्ने उनको भनाइ थियो।
उनले कोशी प्रदेशमा लागुऔषध दुर्व्यसनको समस्या बढ्दै गएकाले समुदायमा आधारित सुधार तथा पुनर्स्थापना केन्द्रको आवश्यकता रहेको पनि बताए।
आसरा सुधार केन्द्रले आफ्नै भवनसँगै रहेको जग्गा खरिद गरी २८.२५ धुर क्षेत्रफलमा महिला आवास गृह निर्माण गर्न लागेको हो। प्रस्तावित भवनमा एकैपटक ५० जना महिलालाई राखेर उपचार, सुधार, सीप विकास तथा पुनर्स्थापनासम्बन्धी सेवा प्रदान गर्ने लक्ष्य रहेको केन्द्र सञ्चालक समितिकी अध्यक्ष शिला बज्राचार्यले जानकारी दिइन्।
उनका अनुसार भवन निर्माणका लागि करिब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। निर्माण कार्य सम्पन्न गर्न समुदाय, विभिन्न संघसंस्था तथा सहयोगी दाताहरूबाट आर्थिक सहयोगको अपेक्षा गरिएको उनले बताइन्।
विशेषगरी महिलाहरू लागुऔषध दुर्व्यसनमा फस्दा स्वास्थ्य, पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा, आर्थिक अवस्था र भविष्यमा गम्भीर असर पर्ने भएकाले उनीहरूका लागि छुट्टै उपचार तथा पुनर्स्थापना गृह आवश्यक रहेको केन्द्रले जनाएको छ।
२०७५ चैत १ गते स्थापना भएको आसरा सुधार केन्द्र पानवारी काठमाडौंको महाराजगञ्जस्थित आसरा सुधार केन्द्र रानीवारीको पहिलो शाखाका रूपमा सञ्चालनमा आएको थियो। पछि २०८० पुस ३ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा विधिवत् दर्ता भई स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएको छ।
समुदाय–प्रहरी साझेदारीको नमुनाका रूपमा रहेको केन्द्रमा हाल पुरुष दुर्व्यसनीका लागि १२० जनासम्म आवासीय उपचार सेवा प्रदान गर्ने क्षमता छ। केन्द्रका अनुसार स्थापनादेखि हालसम्म २ हजार १८७ जना उपचारका लागि भर्ना भएका छन्। तीमध्ये २ हजार १०० जनाले उपचार पूरा गरी पुनर्स्थापना सेवा लिएका छन् भने ८७ जना हाल उपचाररत छन्।
नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा गैरनाफामूलक संस्थाका रूपमा सञ्चालन हुँदै आएको केन्द्रले महिला पुनर्स्थापना गृह निर्माण सम्पन्न भएपछि महिलालाई पनि सुरक्षित वातावरणमा उपचार, सीप विकास र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्ने अपेक्षा गरेको छ।
महिलाका लागि छुट्टै आवासीय उपचार सेवा सुरु भएपछि लागुऔषध दुर्व्यसनमा फसेका महिलालाई समाजमा पुनःस्थापित हुन थप सहयोग पुग्ने विश्वास गरिएको छ।