सुनसरी/ प्रहरीले मुखभित्र लुकाएर ल्याएको ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक युवकलाई सुनसरीको लौकहीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–८ निवासी ३३ वर्षीय रविन तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंसिर ८ गते साँझ ६ः५५ बजे कोशी गाउँपालिका–१ स्थित लौकही पूर्व बसस्टेन्ड नजिक पूर्व–पश्चिम राजमार्गमा उनलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका तामाङलाई शंकाका आधारमा रोकेर खानतलासी गरेको थियो। सो क्रममा उनले मुखभित्र लुकाएर राखेको अवस्थामा लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद पदार्थको तौल एक ग्राम ९० मिलिग्राम रहेको छ। मुखभित्र लुकाएर लागूऔषध ओसारपसार गरिरहेको अवस्थामा फेला परेपछि उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।