-फाइल तस्बिर
धरान/ सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलको पछाडि सवार रहेकी एक युवतीको सडकमा खसेर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा कैलालीको जानकी गाउँपालिका–९ मोतिनगरकी २० वर्षीया सुकृति कर्ण छन्। आइतबार साँझ बराहक्षेत्र नगरपालिका–६ को भित्री सडकखण्डमा मोटरसाइकलबाट खसेर उनी गम्भीर घाइते भएकी थिइन्।
प्रहरीका अनुसार बोराबाँधबाट चक्रघट्टीतर्फ आउँदै गरेको प्रदेश १–०२–०५१ प ६६८९ नम्बरको बजाज मोटरसाइकलमा पछाडि सवार कर्ण साँझ करिब ७ः१५ बजे अचानक सडकमा खसेकी थिइन्। दुर्घटनामा उनको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइते कर्णलाई तत्काल नगर अस्पताल महेन्द्रनगर पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा सोमबार दिउँसो १ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका–६ बसपार्कका ३१ वर्षीय दयानन्द दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा तीव्र गतिमा मोटरसाइकल चलाएको र सडकमा पर्याप्त ध्यान नदिएको कारण दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको छ।