धरान/ प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज (आइतबार) आयोजक स्वर्णिम फुटबल क्लब धरान र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुँदैछ।
धरान–१६ स्थित धरान रंगशालामा रात्रिकालीन समयमा सञ्चालन भइरहेको प्रतियोगिताको आजको खेल साँझ हुनेछ।
घरेलु मैदानमा खेल्दै गरेको आयोजक स्वर्णिमले जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्ने लक्ष्य राखेको छ भने उदयपुरको गाईघाट पनि जितको खोजीमा मैदान उत्रिनेछ।
यसअघि शनिबार भएको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले भारतको झारखण्डलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
एपीएफको जितमा पूर्णिमा राईले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरिन्। उनले खेलको १८औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्।
२२औँ मिनेटमा झारखण्डकी खेलाडीबाट आत्मघाती गोल भएपछि एपीएफले अग्रता दोब्बर बनायो। २९औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल थपेपछि पहिलो हाफमा एपीएफ ३–० ले अघि रह्यो।
दोस्रो हाफमा पनि एपीएफले आक्रामक खेल जारी राख्यो। पूर्णिमाले दोस्रो हाफको १३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्।
त्यसको चार मिनेटपछि हेडमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन्। खेलको ७८औँ मिनेटमा उनले व्यक्तिगत चौथो गोल गरिन्। खेल सकिन एक मिनेट बाँकी रहँदा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गोल थपेपछि एपीएफ ७–० ले विजयी भयो।
चार गोल गरेकी एपीएफकी पूर्णिमा राई खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता मङ्सिर ५ गतेसम्म चल्नेछ। प्रतियोगितामा भारतसहित आठ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँसहित ट्रफी र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।