वराहक्षेत्र/ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) वराहक्षेत्र नगर समितिले पार्टी एकता बैठक तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।
विभिन्न राजनीतिक दलबाट नेकपामा समाहित भएका नेता तथा कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्दै पार्टीलाई थप सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।
पार्टीकी जिल्ला इन्चार्ज सरस्वती पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोम्बु शेर्पा (मल्ली) र पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक गोविन्द निरौलाको विशिष्ट आतिथ्यता रहेको थियो।
पार्टी एकतापछि वराहक्षेत्र नगर समितिको संयोजकमा चन्द्र मगर चयन भएका छन्।
कार्यक्रममा विभिन्न पार्टीबाट नेकपामा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई जिम्मेवारीसहित स्वागत तथा शुभकामना प्रदान गरिएको थियो।
कार्यक्रममा नेताहरूले पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण र जनमुखी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा नवप्रवेशी नेता तथा कार्यकर्तालाई प्रशिक्षणसमेत दिएका थिए।
साथै, एकता प्रक्रियाबाट गठन भएको नगर समितिका सम्पूर्ण सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो।
वराहक्षेत्र नगरपालिकाका वडा नं. १ देखि ११ सम्मका सबै वडाबाट पार्टीका नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा नगर सह–इन्चार्ज धर्म उरावले स्वागत मन्तव्य राखेका थिए भने दिलु गजमेरले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा उपस्थित अतिथिहरूले नवगठित नगर समितिलाई बधाई तथा शुभकामना दिँदै पार्टीलाई एकताबद्ध, संगठित र जनतासँग जोडिएको शक्तिका रूपमा अघि बढाउन आग्रह गरेका थिए।