विराटनगर/ विराटनगरमा ४० वर्षदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या प्रकरणमा हार्डवेयर गोदाम सञ्चालकसहित तीन जना प्रहरी नियन्त्रणमा परेका छन्।
मोरङको विराटनगर महानगरपालिका–६ निवासी लालजीप्रसाद गुप्ताको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना ३६ वर्षीय पुरुष र दुई जना नाबालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर–६ स्वागत चोकका अफरोज आलम रहेका छन्। उनी विराटनगर–६ महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका थिए।
प्रहरीका अनुसार भारतको वाराणसी स्थायी घर भएका गुप्ता विगत ४० वर्षदेखि विराटनगरमा बस्दै आएका थिए। उनले विराटनगर महानगरपालिका–६ धरान रोडमा ‘लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए।
गुप्ता गत कात्तिक ६ गते शुक्रबार दिउँसो २ बजेर ५७ मिनेटदेखि पसलबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। त्यसको दुई दिनपछि कात्तिक ८ गते आइतबार बिहान १० बजे सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलाको किनारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए।
सूचनापछि घटनास्थल पुगेको प्रहरीले अनुसन्धानका क्रममा शवको पहिचान गर्दै हत्या घटनाको अनुसन्धान अघि बढाएको थियो। घटनास्थलमा प्रहरीको प्राविधिक टोली र तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार पानी तान्ने मोटरको तार चोरी गरेको भन्दै अफरोज आलमविरुद्ध लालजीप्रसाद गुप्ताले हल्ला फैलाएको विषयलाई लिएर दुई जनाबीच विवाद भएको थियो। सोही विवादपछि गुप्तालाई घरमा बोलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा कात्तिक १० गते साँझ ५ बजे अफरोज आलमसहित १३ वर्षीय भारतीय नाबालक र १६ वर्षीय नेपाली नाबालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ती दुवै नाबालकमाथि शव व्यवस्थापनमा सहयोग गरेको आरोप छ।
प्रहरीले घटनामा प्रयोग भएको भनिएको एउटा जीआई पाइप, मृतकले प्रयोग गर्ने रेडमी कम्पनीको मोबाइल र शव बोक्न प्रयोग गरिएको एउटा कार्पेटसमेत बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।