धरान/ भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका सबै विद्यालय एक दिन बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाले असोज ९ गते सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको हो। विद्यालय बन्द हुने दुई दिनको बिदा भने मिनपचास (हिउँदे) बिदाबाट कट्टा हुने जनाइएको छ।
धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृतस्तर सातौं उमाकुमारी दाहालका अनुसार मौसम प्रतिकूल बन्न सक्ने सम्भावना र विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरिएको हो।
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।
महाशाखाले वर्षाका कारण हावाहुरी, चट्याङ तथा अन्य मौसमजन्य जोखिम बढ्न सक्ने भन्दै विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई सतर्क रहन र सुरक्षित रहन आग्रह गरेको छ।