धरान/ सुनसरीको धरानका एक युवक विराटनगरमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बिहीबार बिहान पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका–१० का ४३ वर्षीय शिवराज राईलाई विराटनगर महानगरपालिका–१५ स्थित रानी बैंक चोकबाट प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका राईमाथि शंका लागेपछि प्रहरीले रोकेर चेकजाँच गरेको थियो ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले राईको शरीर खानतलासी गर्दा ८ ग्राम ६२० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । लागुऔषधसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको हो । प्रहरीका अनुसार राईविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी छ ।