- स्वर्णिम राई
धरान/ धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर पितृश्राद्ध तथा धार्मिक आस्थाको केन्द्रका रूपमा प्रसिद्ध बन्दै गएको छ ।
प्राकृतिक सौन्दर्यका कारणसमेत छुट्टै पहिचान बनाएको विष्णुपादुका क्षेत्रमा धरान बजारबाट माथि उक्लिँदै जाँदा चिसो हावापानीसँगै गाउँले परिवेशको अनुभूति गर्न सकिन्छ ।
विशेषगरी मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान् विष्णुले पहिलो श्राद्ध गरेको स्थानका रूपमा विष्णुपादुकालाई लिने गरिन्छ ।
यहीँबाट श्राद्ध परम्पराको थालनी भएको भक्तजनको विश्वाससमेत रहेको छ ।
इटहरीबाट पहिलो पटक श्राद्ध गर्न आएका दम्पती निमा तिम्सिना र अविशेक तिम्सिनाले विष्णुपादुका मन्दिरमा श्राद्ध गर्दा पितृले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेकाले आफूहरू यहाँ आएको बताए ।
‘बाबाआमाको नाममा श्राद्ध गर्न पिण्डेश्वरमा पूजा गरेपछि यहाँ आएका हौँ । विष्णुपादुका मन्दिरमा श्राद्ध गर्दा पितृको दिवंगत आत्माले मोक्ष प्राप्त गर्ने विश्वास छ,’ अविशेकले भने ।
त्यसैगरी, मोरङको रङ्गेलीबाट बुबाको श्राद्ध गर्न आएका मनिष विष्टले पनि विष्णुपादुका मन्दिरमा श्राद्ध गर्दा बुबाको दिवंगत आत्माले शान्ति पाउने जनविश्वास रहेकाले आफू श्राद्धका लागि आएको बताए ।
विष्णुपादुका मन्दिरमा पितृको सम्झनामा श्राद्ध गर्न नेपालका विभिन्न स्थानका साथै भारतको सिक्किम, दार्जिलिङलगायतका ठाउँबाट समेत भक्तजन आउने गरेको मन्दिरका पुजारी इमानसिंह तामाङले बताए ।
‘नेपालका विभिन्न ठाउँका साथै भारतको सिक्किम, दार्जिलिङलगायतका ठाउँ र विदेशमा बस्ने नेपालीसमेत विशेष समयमा यहाँ श्राद्ध गर्न आउने गरेका छन् । अरू ठाउँमा पटक–पटक श्राद्ध गर्दा पनि मुक्ति नपाएका पितृले यहाँ श्राद्ध गर्दा शान्ति पाउने र खुसी हुने विश्वास रहेकाले भक्तजन आउने गरेका छन्,’ उनले भने ।
प्रत्येक वर्ष पौष शुक्ल औँशीका दिन आफ्ना पितृलाई पिण्ड तथा तर्पण दिन ठूलो सङ्ख्यामा भक्तजन यहाँ आउने गरेका छन् । अहिले पनि दैनिक रूपमा तिथिअनुसार श्राद्ध गर्न भक्तजन विष्णुपादुका पुग्ने गरेको पुजारी तामाङले बताए ।
धरानको मुख्य बजारबाट करिब १२ किलोमिटर माथि रहेको विष्णुपादुका मन्दिरमा दैनिक एक सय ५० भन्दा बढी भक्तजन आउने गरेको धरान उपमहानगरपालिका–२० का वडाध्यक्ष पदम लिम्बूले बताए ।
‘यो धार्मिक तथा पर्यटकीय मन्दिर भएकाले यसको संरक्षण र प्रचारप्रसार आवश्यक छ,’ उनले भने । पुजारी तामाङका अनुसार विगतमा सवारीसाधन सञ्चालन हुने बाटो नहुँदा भक्तजनलाई मन्दिरसम्म पुग्न कठिन हुने गरेको थियो । अहिले सवारीसाधन सञ्चालन हुन सक्ने बाटो बनेपछि विगतको तुलनामा भक्तजनको सङ्ख्या बढेको उनले जानकारी दिए ।
सडक तथा अन्य पूर्वाधार थप व्यवस्थित गर्न सके दैनिक रूपमा अझ ठूलो सङ्ख्यामा भक्तजन आउने उनको भनाइ छ ।
विसं १९७० मा लक्ष्मण घिसिङले मन्दिर रहेको स्थलमा उत्खनन गर्दा पाउको छापसहितको ढुङ्गा फेला पारेपछि त्यसलाई भगवान् विष्णुको पाउ भएको विश्वास गर्दै पूजा गर्न थालिएको किंवदन्ती छ ।
मन्दिरमा पुस्तौँदेखि तामाङ जातिका व्यक्ति मुख्य पुजारीका रूपमा रहने गरेका छन् भने पितृश्राद्धको विधि ब्राह्मण पुजारीबाट गराउने परम्परा रहेको छ ।