सुनसरी/ सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्रहरीले भन्सार छली भारतबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ।
देवानगञ्ज गाउँपालिका–२ स्थित मरिया खोलाबाट प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ सीए १४२३ नम्बरको भारतीय मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा भन्सार छली अवैध रूपमा ल्याइएका लत्ताकपडा फेला पारेको हो।
इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले बरामद गरेको लत्ताकपडाको अनुमानित मूल्य १ लाख ३२ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद सामग्री र भारतीय मोटरसाइकललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा ल्याएर राखिएको छ।