१९ दिनसम्म सास–लासको पत्तो नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि

  • भदौ २८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ भोटेकोशीमा बाढी आएको दिनदेखि १९ दिनसम्म छोरा फर्किने बाटो हेरेका झापाको बिर्तामोड–३ का ७९ वर्षीय शान्तिराम आचार्यले आइतबार आफ्नै हातले छोराको कुशको शवमा दागबत्ती दिए। आँखाअघि छोराको शव थिएन, थियो त केवल कुशबाट बनाइएको प्रतीकात्मक शरीर।

बाढीले छोरा बेपत्ता बनाएपछि शान्तिरामको परिवारले १९ दिनसम्म एउटै आशामा दिन काट्यो—कतै जीवितै भेटिएला कि ? तर खोजीका क्रममा न सास भेटियो, न लास।

अन्ततः परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर परिवारले राजेन आचार्यको अन्तिम संस्कार गरेको छ।

बिर्तामोड नगरपालिका–३, बिर्ताबजार रंगशाला टोलका ५२ वर्षीय राजेन आचार्य भदौ १० गते बिहान भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन भएका थिए।

बिहान ८ः३२ बजेदेखि उनको परिवारसँग सम्पर्क टुटेको थियो।

राजेन तीन महिनाअघि मात्र स्याफ्रुवेँसीस्थित लाङटाङ हाइड्रोपावरको २० मेगावाट आयोजनामा कर्मचारीका रूपमा कार्यरत भएका थिए।
घटना हुनुभन्दा करिब एक साताअघि उनी झापा आएका थिए।

झापाबाट आफ्नो कार्यक्षेत्र फर्किएको पाँच दिनमै रसुवागढी क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा उनी बेपत्ता भएका थिए।

परिवारले उनलाई सुरुङभित्र वा बाढीबाट जोगिएर कुनै सुरक्षित स्थानमा रहेको हुनसक्ने आशा लामो समयसम्म राखेको थियो।

राज्यका सुरक्षा तथा उद्धार संयन्त्रबाट खोजी जारी रहे पनि १९ दिनसम्म कुनै सकारात्मक खबर नआएपछि परिवार अन्तिम संस्कार गर्ने निर्णयमा पुगेको राजेनका माइला दाजु दीपक आचार्यले बताए।

‘सास वा लासमध्ये एउटा त आउला भन्ने आशा थियो,’ दीपकले भने, ‘१९ दिनसम्म केही पत्ता नलागेपछि परम्परा पूरा गर्न बाध्य भयौँ।’

कुशको शव बोकेर कनकाई माई नदीको घाट पुगेका शान्तिरामका लागि आइतबारको दिन सहज थिएन।

वृद्ध शरीरभन्दा मनको पीडा भारी थियो। ५२ वर्षको छोरालाई आफ्नै आँखाले अन्तिम बिदाइ गर्ने अवस्था नआएपछि उनले कुशको शवलाई नै छोरा सम्झिएर अन्तिम संस्कार गर्नुपर्‍यो।

राजेनकी ७५ वर्षीया आमा रोहिणीदेवी भने घाटसम्म पुग्न सकिनन्। छोराको मृत्यु पुष्टि गर्ने शवसमेत नदेखी अन्तिम संस्कार गर्नुपर्दा आचार्य परिवारमा गहिरो शोक छाएको छ।

शान्तिराम र रोहिणीदेवीका पाँच सन्तानमध्ये राजेन कान्छा छोरा थिए। उनका दुई दाजु र दुई दिदी छन्।

अन्तिम संस्कार गरिए पनि परिवारको मनबाट राजेन फर्किने आशा भने पूरै मरेको छैन। कतै जीवितै पो छन् कि भन्ने झिनो आशाले परिवारलाई अझै छाडेको छैन।

राजेनकी ४८ वर्षीया श्रीमती तारा खतिवडा आचार्य र २३ वर्षीया छोरी प्रज्ञाका लागि पनि आइतबारको दिन उत्तिकै पीडादायी रह्यो।

स्नातक तहको चौथो वर्षमा अध्ययनरत प्रज्ञाले अब बाबुको माया र अभिभावकत्व आमाको काँधमा खोज्नुपर्ने भएको छ। परिवारले धर्मसंस्कृतिअनुसार राजेनको कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो।

श्रीमती तारा, छोरी प्रज्ञा र वृद्ध पिता शान्तिरामले आइतबारदेखि १३ दिनसम्म किरिया बस्नेछन्। भोटेकोशी बाढीमा बेपत्ता भएका झापाको मेचीनगर–६, काँकरभिट्टाका दीपक खरेलको अवस्था पनि अझै अज्ञात छ। उनको खोजी जारी रहे पनि परिवारले कुनै खबर पाउन सकेको छैन।

दीपक सम्पर्कविहीन भएयता उनकी आमा, श्रीमती र दुई छोरी उनको बाटो कुरिरहेका छन्।

युएन नवोदयद्वारा प्र ...

धरान/  नेपालको प्रतिष्ठित शैक्षिक संस्था युएन ...

मोटरसाइकलको डिकीभित् ...

सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिकामा प्रहरीले ब्रा ...

भारतबाट भन्सार छली ल ...

सुनसरी/  सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्र ...

धरानका राजको शरीरभित ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved