धरान/ धरान-१२ स्थित धरान मेघा हिमालयन स्कुलरकलेजका शिक्षक तथा विद्यार्थीहरूले भोटेकोसीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावितहरूका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्।
विद्यालय तथा कलेजका विद्यार्थीहरूको सक्रियतामा शिक्षक तथा विद्यार्थीबाट संकलित उक्त रकम बिहीबार एन प्याब्सन धरानका अध्यक्ष भगत लिम्बूलाई हस्तान्तरण गरिएको हो।
रकम बुझ्दै अध्यक्ष लिम्बूले धरानका विभिन्न विद्यालयबाट बाढीपीडितका लागि सहयोग रकम संकलन भइरहेको र सबै रकम संकलन भएपछि एकमुष्ट रूपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइने बताए।
उनले भने, “धरानका विभिन्न स्कुलहरूबाट बाढीपीडितका लागि रकम उठ्ने क्रम जारी छ। सबैतिर संकलन भएपछि हामी एकमुष्ट रूपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाउँछौँ।”
विद्यार्थीहरूको सक्रियतामा सहयोग रकम संकलन गरेर पीडितसम्म पुर्याउने प्रयास सामाजिक उत्तरदायित्व र सामाजिकीकरणको राम्रो उदाहरण भएको बताउँदै लिम्बूले सहयोगी विद्यार्थी तथा शिक्षकहरूलाई धन्यवाद व्यक्त गरे।
भोटेकोसीमा आएको बाढीले भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै मेघा हिमालयन स्कुलरकलेजका अध्यक्ष राजेश विद्रोहीले विपद्को समयमा गरिएको सहयोग रकम ठूलो नभए पनि पीडितको राहतमा “एउटा इँटा थप्ने काम” अवश्य गर्ने बताए।
सहयोग संकलनमा सक्रिय विद्यार्थीहरू सन्जिना राई, जिज्ञासा भट्टराई, सिना राई र बिमोश विश्वकर्माले आफूहरूले स्वस्फूर्त रूपमा सहयोग गरेको बताए। उनीहरूका अनुसार कसैले खाजा खर्च कटाएर त कसैले व्यक्तिगत प्रयोजनका लागि तत्काल किन्नुपर्ने सामान नकिनी त्यसका लागि छुट्याएको रकम बाढीपीडितका लागि सहयोग गरेका हुन्।
“मानवीय सहयोग गर्नु हाम्रो दायित्व हो,” उनीहरूले भने।