गोमनले डस्यो ८ वर्षीया आस्वानालाई, बचाउन तीन अस्पताल दौडिए परिवार; पीआईसीयू नपाउँदा गयो ज्यान

  • भदौ २५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानलाई बुधबार साँझ गोमन सर्पले डस्यो । विषालु सर्पले डसेपछि उपचारका लागि उनलाई एकपछि अर्को अस्पताल पुर्याइयो ।

तर, आवश्यक सर्पदंश उपचार र पीआईसीयू सेवा तत्काल उपलब्ध हुन नसक्दा उनको ज्यान गएको छ । परिवारका अनुसार घरभित्र खेलिरहेका बेला बुधबार साँझ गोमन सर्पले आस्वानाको बायाँ हातमा टोकेको थियो ।

सर्पले टोकेको कुरा उनले तत्काल अभिभावकलाई बताएकी थिइनन् । स्वास्थ्य अवस्था बिग्रिएपछि मात्रै परिवारले घटनाका बारेमा थाहा पाएको थियो । परिवारले हेर्दा सर्पले टोकेको हातबाट रगत बगिरहेको थियो ।

तत्काल उनलाई इटहरीमा नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र लगियो । करिब ६ बजे उपचार केन्द्र पुर्याइएकी बालिकाको उपचार त्यहाँ हुन सकेन ।

१३ वर्षमुनिका बालबालिकालाई उपचार गर्ने व्यवस्था नरहेको जानकारी गराइएको काका मनीराज चौहानले बताए ।  सर्पदंश केन्द्र लैजाने क्रममा बालिकालाई बान्तासमेत भएको थियो । अवस्था गम्भीर बन्दै गएपछि परिवारले उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्यायो ।

त्यहाँ उपचार सुरु गरिए पनि बालिकालाई आवश्यक पीआईसीयू तत्काल उपलब्ध हुन सकेन । प्रतिष्ठानका अनुसार चारवटा पीआईसीयू रहे पनि त्यतिबेला कुनै बेड खाली थिएन । सर्पको विषका कारण गम्भीर बनेकी बालिकालाई सघन निगरानी र उपचार आवश्यक रहेकाले थप उपचारका लागि पीआईसीयू उपलब्ध भएको अस्पतालमा लैजान भनियो ।

त्यसपछि उनलाई मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगियो । साँझ करिब ७ः५० बजे अस्पताल पुर्याइएकी आस्वानालाई चिकित्सकले करिब ८ः१७ बजे मृत घोषणा गरेका थिए ।

काका मनीराजका अनुसार सर्पले टोकेको केही समयसम्म आस्वाना बोलिरहेकी थिइन् । तर, अस्पतालतर्फ लैजाँदै गर्दा उनको अवस्था क्रमशः बिग्रिँदै गएको थियो । ‘हामीले तत्काल अस्पताल पुर्यायौं । छोरी सुरुमा बोल्दै थिइन् । अस्पताल पुर्याउन लाग्दा बान्ता भयो । अवस्था गम्भीर बन्दै गयो । सर्पदंश केन्द्रमा उपचार हुन सकेन ।

त्यसपछि धरान लगियो । त्यहाँ उपचार त सुरु भयो । तर, पीआईसीयू खाली नभएको जानकारी गराइयो । हामीले हतारहतार विराट टिचिङ ल्यायौं । तर, छोरीलाई बचाउन सकिएन,’ मनीराजले भने ।उनका अनुसार सर्पले टोकेको कुरा केही ढिला थाहा हुँदा बालिकाको अवस्था गम्भीर भइसकेको थियो ।

त्यसपछि उपचारका लागि विभिन्न अस्पताल पुर्याउनु पर्दा थप समय बितेको परिवारको गुनासो छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शम्शेर श्रेष्ठले पीआईसीयू खाली नभएकाले बालिकालाई रेफर गर्नु परेको बताए । उनका अनुसार प्रतिष्ठानमा चारवटा पीआईसीयू छन् ।

‘प्रतिष्ठानमा चार वटा पीआईसीयू छन् । खाली भएको भए बालिकालाई तत्काल उपचार सुरु गर्ने थियौं । प्रतिष्ठान ल्याउँदा नै अवस्था गम्भीर बनिसकेको थियो । तर, पीआईसीयू उपलब्ध गराउन सकेनौं । हामीलाई पनि दुःख लागेको छ,’ उनले भने । बालिकालाई डसेको सर्पलाई स्थानीयले नियन्त्रणमा लिएर बट्टामा राखेका थिए ।

बट्टामा राखिएपछि सर्प मरेको परिवारले जनाएको छ । आस्वानाको शव विराट शिक्षण अस्पतालमै राखिएको छ। सर्पदंशपछि उपचारका लागि बालिकालाई इटहरीबाट धरान हुँदै बूढीगंगासम्म पुर्याउँदा पनि आवश्यक सघन उपचार सेवा तत्काल उपलब्ध हुन नसकेको यो घटनाले सर्पदंश उपचारको पहुँच र बालबालिकाका लागि आवश्यक पीआईसीयू सेवाको अवस्थामाथि प्रश्न उठाएको छ ।

विषालु सर्पको डसाइपछि उपचारमा हुने केही समयको ढिलाइ पनि जोखिमपूर्ण हुन सक्ने भएकाले स्थानीयस्तरमै प्रभावकारी उपचार र आवश्यक सघन उपचार सेवाको उपलब्धता महत्वपूर्ण देखिएको सरोकारवाला बताउँछन् ।

-प्रदेश खबरबाट

पहिलोपटक धरानमा महिल ...

धरान/  धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय ...

धरानमा औषधिको आवरणमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली ...

स्थानीयले श्रमदान गर ...

ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ ग ...

धरान मेघा हिमालयनका ...

धरान/  धरान-१२ स्थित धरान मेघा हिमालयन स्कुलरकलेजक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved