सुधार नेपालद्वारा एकैदिन ३५० पिन्ट रगत संकलन

  • भदौ २१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सुधार नेपाल, धरानले एकै दिन आयोजना गरेको वृहत् रक्तदान कार्यक्रमबाट ३५० पिन्ट रगत संकलन गरेको छ।

धरानको भानुचोकमा शुक्रबार आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बिहानैदेखि रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

मानवीय सेवामा योगदान पुर्‍याउने तथा रगतको अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ सुधार नेपालले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रममा विभिन्न उमेर समूहका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

धरानको मुख्य बजार क्षेत्र भानुचोकमा आयोजना गरिएको कार्यक्रममा बिहानैदेखि रक्तदान गर्न आउनेहरूको भीड देखिएको थियो।

रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। कार्यक्रमलाई व्यवस्थित बनाउन सुधार नेपालका पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका थिए।

एकै दिनमा ३५० पिन्ट रगत संकलन हुनु धरानका लागि मात्र नभई कोशी प्रदेशकै रक्तदान अभियानको क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको आयोजक संस्थाले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी, सुनसरी शाखाका प्रमुख किरण कुमार कार्कीले चालु आर्थिक वर्षको हालसम्मको तथ्यांकलाई हेर्दा सुधार नेपालले कोशी प्रदेशमै सबैभन्दा धेरै रगत संकलन गर्ने संस्थाको रूपमा आफूलाई स्थापित गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार हालसम्म कोशी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भएका रक्तदान कार्यक्रमहरूमध्ये कुनै पनि संस्थाले एकै दिनमा यति ठूलो मात्रामा रगत संकलन गरेको तथ्यांक प्राप्त नभएको बताउनुभयो।

यस आधारमा सुधार नेपाललाई चालु आर्थिक वर्षमा कोशी प्रदेशकै प्रथम तथा उत्कृष्ट रक्तदाता संस्थाका रूपमा लिन सकिने उहाँको भनाइ रहेको छ।

कार्कीले पछिल्लो समय विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उपचाररत बिरामीहरूका लागि नियमित रूपमा रगतको आवश्यकता पर्ने गरेको उल्लेख गर्दै यस्ता वृहत् रक्तदान कार्यक्रमले रक्त अभाव न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

विशेषगरी दुर्घटनामा परेका बिरामी, शल्यक्रिया गर्नुपर्ने बिरामी, सुत्केरी महिला, क्यान्सर, थालासेमिया तथा अन्य गम्भीर रोगबाट पीडित बिरामीहरूका लागि रगत अत्यन्त आवश्यक पर्ने भएकाले स्वस्थ व्यक्तिहरूले नियमित रूपमा रक्तदान गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।

सुधार नेपालका अध्यक्ष निनाचन्द्र राईले समाज र मानवताको सेवामा सानो भए पनि योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवामध्ये एकका रूपमा लिन सकिने उल्लेख गर्दै संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

“रगतको अभावका कारण कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेका हौं,” अध्यक्ष राईले भन्नुभयो।

उहाँका अनुसार सुधार नेपालले केवल रक्तदानका क्षेत्रमा मात्र नभई धरानका विभिन्न वडाहरूमा पुगेर सामाजिक सेवासम्बन्धी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ। स्थानीय समुदायको आवश्यकता र समस्यालाई ध्यानमा राख्दै संस्थाले विभिन्न समयमा सामाजिक सहयोग, जनचेतनामूलक कार्यक्रम तथा मानवीय सेवाका गतिविधिहरू सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो।

सुधार नेपालले आगामी दिनमा पनि आफ्नो सामाजिक सेवाको अभियानलाई थप विस्तार गर्ने योजना बनाएको जनाएको छ। विशेषगरी युवाहरूलाई सामाजिक कार्यमा सहभागी गराउने, स्वेच्छिक रक्तदानप्रति जनचेतना फैलाउने तथा आवश्यक पर्दा समुदायमा प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यका साथ संस्थाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै जाने अध्यक्ष राईले बताउनुभयो।

कार्यक्रममा सहभागी रक्तदाताहरूले पनि रक्तदान गर्नु मानवीय कर्तव्य भएको बताएका थिए। स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्दा अरूको जीवन बचाउन सहयोग पुग्ने भएकाले सबैलाई स्वेच्छिक रक्तदानमा सहभागी हुनुपर्ने उनीहरूको भनाइ थियो।

धरानमा विभिन्न सामाजिक संघसंस्था तथा युवाहरूको सक्रियतामा समय–समयमा रक्तदान कार्यक्रमहरू आयोजना हुँदै आए पनि सुधार नेपालले आयोजना गरेको शुक्रबारको कार्यक्रमबाट एकै दिनमा ३५० पिन्ट रगत संकलन हुनु विशेष उपलब्धिका रूपमा हेरिएको छ।

रक्त संकलनबाट प्राप्त रगत आवश्यकताअनुसार विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचाररत बिरामीहरूका लागि उपयोग गरिने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ। रक्तदानजस्तो मानवीय कार्यमा स्थानीय संघसंस्था, युवा तथा सर्वसाधारणको सहभागिता बढ्दै जानु सकारात्मक पक्ष भएको सरोकारवालाहरूले बताएका छन्।

सुधार नेपालको यो उपलब्धिले अन्य सामाजिक संघसंस्थाहरूलाई समेत रक्तदान तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय हुन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। संस्थाले आगामी दिनमा पनि रक्तदानसँगै समाजमा आवश्यक पर्ने अन्य सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved