धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली फोकल्याण्ड टापुबाट प्रहरीले ब्राउन सुगर लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरान–५ देउराली फोकल्याण्ड टापु बस्ने ३१ वर्षीय मनिराज भुजेल रहेका छन्।
प्रहरीका अनुसार भदौ १८ गते दिउँसो करिब २ः३० बजे उक्त क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको लागूऔषध नियन्त्रण टोली, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले भुजेलको घर तथा कोठामा खानतलासी गर्दा उनले लुकाइछिपाई राखेको ब्राउन सुगर ४.९१ ग्राम फेला पारेको जनाएको छ।
लागूऔषधसहित पक्राउ परेका भुजेललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।