काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले माता मनकामना भलाई तथा इन्भेस्टमेन्ट कम्पनी प्रा.लि. तथा यातायात प्रा.लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार १ सय ११ आर्थिक सहयोग गरेको छ ।
कम्पनीका अध्यक्ष देबिन श्रेष्ठका अनुसार बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति कम्पनी परिवारले दुःख व्यक्त गर्दै विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।
कम्पनीले विपत्तिका कारण प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता भएका व्यक्तिहरूको शीघ्र खोज तथा सकुशल उद्धारको कामना गरेको छ ।
अध्यक्ष श्रेष्ठले विपत्तिको समयमा सहयोगको रकम ठूलो वा सानोभन्दा पनि पीडितको दुःखमा साथ दिनु र मानवीय सहयोगमा हातेमालो गर्नु महत्वपूर्ण रहेको बताए ।
कम्पनीले प्रभावित परिवारहरूलाई कठिन परिस्थितिबाट छिट्टै सामान्य जीवनमा फर्किन आवश्यक सहयोग, साहस र धैर्य प्राप्त होस् भन्ने कामनासमेत गरेको छ ।