बीपी प्रतिष्ठानका तीन प्रमुख पदमा नियुक्ति, शिक्षाध्यक्षमा झा, रजिस्ट्रारमा बराल र अस्पताल निर्देशकमा लिम्बू

  • भदौ १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तीन प्रमुख पदमा नयाँ पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. स्मृति कार्कीको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले मंगलबार शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त गरेकी हुन्।

मन्त्री मेहेताले शिक्षाध्यक्षमा प्राध्यापक डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्रकुमार लिम्बूलाई नियुक्त गरेकी हुन्।

तीनवटै पदका लागि उपकुलपति कार्कीले तीन–तीन जनाको नाम सिफारिस गरेकी थिइन्।

शिक्षाध्यक्षका लागि प्राध्यापक डा. शिवेन्द्र झासहित प्राध्यापक डा. कृष्णा पोखरेल र प्राध्यापक डा. रोविन मास्केको नाम सिफारिसमा परेको थियो।

त्यस्तै, रजिस्ट्रार पदका लागि धरणीधर बरालसहित प्राध्यापक डा. शम्शेर श्रेष्ठ र सागर ताम्राकारको नाम सिफारिस गरिएको थियो। अस्पताल निर्देशक पदका लागि डा. इन्द्रकुमार लिम्बूसहित डा. मधुर बस्नेत र सेराज अहमत खानको नाम सिफारिसमा परेको थियो।

सिफारिस भएका नाममध्येबाट मन्त्री मेहेताले तीनै पदमा एक–एक जनालाई नियुक्त गरेकी हुन्।

लामो शैक्षिक अनुभव बोकेका झा शिक्षाध्यक्ष

नवनियुक्त शिक्षाध्यक्ष प्राध्यापक डा. शिवेन्द्र झासँग प्रतिष्ठानको शैक्षिक क्षेत्रमा लामो समय काम गरेको अनुभव छ। उनले प्रतिष्ठानमा लामो समय शैक्षिक डिनका रूपमा जिम्मेवारी सम्हाल्दै शैक्षिक प्रशासन तथा चिकित्सा शिक्षाको क्षेत्रमा काम गरेका छन्।

झा हाल प्रतिष्ठानको फरेन्सिक मेडिसिन विभागका विभागीय प्रमुखका रूपमा कार्यरत छन्। प्रतिष्ठानको शैक्षिक गतिविधि, चिकित्सा शिक्षा र शैक्षिक प्रशासनमा लामो अनुभव भएका कारण शिक्षाध्यक्षका रूपमा उनको नियुक्तिलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रशासनिक अनुभव भएका बराल रजिस्ट्रार

नवनियुक्त रजिस्ट्रार धरणीधर बराल प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्।

अस्पताल व्यवस्थापन तथा प्रशासनिक क्षेत्रमा समेत राम्रो दख्खल राख्ने बरालसँग प्रतिष्ठानको आन्तरिक प्रशासन र व्यवस्थापनबारे अनुभव रहेको छ।

प्रतिष्ठानको प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनाउँदै शैक्षिक तथा कर्मचारी व्यवस्थापनमा समन्वय कायम गर्ने जिम्मेवारी अब बरालको काँधमा आएको छ।

अस्पताल निर्देशकमा लिम्बू

अस्पताल निर्देशकमा नियुक्त डा. इन्द्रकुमार लिम्बू प्रतिष्ठानको कलेज अफ डेन्टलमा प्रोस्थोडोन्टिक्स विभागका एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्।

लिम्बूले प्रतिष्ठानमा लामो समय डेपुटी अस्पताल निर्देशकका रूपमा काम गरिसकेका छन्।

उनले प्रतिष्ठानको निमित्त प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। पछिल्लो समय उनी निमित्त अस्पताल निर्देशकका रूपमा कार्यरत थिए।

प्रतिष्ठानको निमित्त प्रमुखको रूपमा लिम्बूले गरेको कार्यसम्पादनको प्रतिष्ठानका चिकित्सक, कर्मचारी तथा विद्यार्थीका साथै सेवाग्राहीहरूले समेत प्रशंसा गर्दै आएका थिए।

अस्पतालको दैनिक सेवा व्यवस्थापन, प्रशासनिक समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन उनले निर्वाह गरेको भूमिकाको सकारात्मक चर्चा प्रतिष्ठानभित्र हुने गरेको छ।

तीन प्रमुख पदमा अनुभवी व्यक्तिहरू नियुक्त भएसँगै प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा अस्पताल सेवामा सुधारको अपेक्षा गरिएको छ।

प्रतिष्ठानमा लामो समयदेखि देखिँदै आएका समस्या समाधान गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने चुनौती भने नवनियुक्त पदाधिकारीसामु रहेको छ।

नवनियुक्त शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशकले आ–आफ्नो जिम्मेवारीमा प्रभावकारी समन्वय कायम गर्दै प्रतिष्ठानको शैक्षिक गुणस्तर, प्रशासनिक सुशासन र स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने देखिन्छ।

खाजा खर्च कटाएर बाढी ...

धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजि ...

पुस्तकालय दिवसको अवस ...

विराटनगर/  परोपकार अभियान समूह विराटनगरको आयो ...

गाँजासहित अस्पतालको ...

विराटनगर/ मोरङको विराटनगर महानगरपालिका–१६ दर ...

संखुवासभाका क्रोनिक ...

विराटनगर/ संखुवासभा जिल्लामा सञ्चालित दुई ठूला बहु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved