धरान/चोरी मुद्दामा अदालतबाट ४ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएपछि लामो समयदेखि फरार रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन्।
सुनसरीको धरान उपमहानगरपालिका–८ का ३८ वर्षीय मक्कर भन्ने सुवे परियारलाई प्रहरीले पक्राउ गरेको हो।
अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शनिबार साँझ ६ः३० बजे परियारलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
परियारविरुद्ध काठमाडौं जिल्ला अदालतले २०७५ चैत ५ गते चोरी मुद्दामा ४ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार रहँदै आएका थिए।
पक्राउ परेका परियारलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याई राखिएको प्रहरीले जनाएको छ।