बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–३, माझँकटेरामा सँगै लेबर काम गर्दै आएका साथीबीचको सामान्य विवाद हत्यासम्म पुगेको छ। फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सुरु भएको झैझगडाले एक जनाको ज्यान गएपछि प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
गत साउन २६ गते राति अन्दाजी ९ः४० बजे काठेखोला गाउँपालिका–३, माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा बस्दै आएका ३६ वर्षीय अशोक खत्रीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
प्रारम्भिक अनुसन्धानबाट सँगै लेबर काम गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगरले खत्रीमाथि धारिलो चक्कु प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि फरार हुन नपाउँदै प्रहरीले स्थानीयको सहयोगमा अर्जुन घर्ती मगर र उनीहरूसँगै काम गर्दै आएका ढोरपाटन नगरपालिका–५ का ३६ वर्षीय रिखे दमाईलाई सोही राति काठेखोला–३, धम्जा माझँकटेराबाट पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा हत्या हुनुअघि तीनै जना सँगै काम गर्दै र बस्दै आएको खुलेको छ। साउन २५ गते राति फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर उनीहरूबीच सामान्य झैझगडा भएको थियो। त्यसको भोलिपल्ट दिनभरको काम सकेपछि तीनै जना सँगै बसेर मादक पदार्थ सेवन गर्ने क्रममा अघिल्लो दिनको विवाद फेरि बल्झिएको थियो।
सोही क्रममा अर्जुन घर्ती मगरले अशोक खत्रीमाथि धारिलो चक्कुले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको अनुसन्धानबाट खुलेको छ।
मृतक खत्रीका १२, ९ र ७ वर्षका तीन जना छोरा छन् भने उनकी श्रीमती दिलमाया भण्डारी गर्भवती रहेकी छन्। परिवारको सम्पूर्ण आर्थिक जिम्मेवारी अशोकमाथि रहेको जनाइएको छ। श्रीमान्को हत्यापछि तीन साना छोरासहित गर्भवती श्रीमतीको बिचल्ली भएको छ।
मृतककी श्रीमती भण्डारीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी छन्। प्रहरीले घटनामा प्रयोग भएको चक्कु र रगत लागेको कपडालगायतका प्रमाणसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका अर्जुन घर्ती मगर र रिखे दमाईलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।