झापा/झापाको मेचीनगरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका ललितपुरका एक पुरुषलाई प्रहरीले काकडभिट्टाबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ का करिब ४७ वर्षीय प्रवेक डंगोल रहेका छन्।
प्रहरीका अनुसार २०८२ साल फागुन २५ गते राति मेचीनगर नगरपालिका–१३ चारआलीस्थित ओझा होटलमा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा डंगोलविरुद्ध मुद्दा दर्ता भएको थियो। घटनापछि उनी फरार रहेका थिए।
अनुसन्धानका क्रममा प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। सोही क्रममा २०८३ साल साउन २६ गते दिउँसो करिब ३ बजे डंगोल भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो।
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय काकडभिट्टासँग समन्वय गरी खोजतलास गर्दा काकडभिट्टा बसपार्कबाट उनलाई फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका डंगोललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको जनाइएको छ।