धरान/ जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान धरान–७ स्थित डेराबाट भारतको भागलपुर, बिहान थाना हबिपुर घर भएका ३२ वर्षीय मो. सहजादालाई पक्राउ गरेको हो।
सुनसरी जिल्ला अदालत इनरुवाको फैसलाअनुसार सहजादालाई लागूऔषध मुद्दामा ३ वर्ष ६ महिना कैद र १ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। सजाय भुक्तानका क्रममा उनी झुम्का कारागारमा रहेका थिए।
तर २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। खोजतलासका क्रममा धरान–७ मा डेरा गरी लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सहजादालाई आवश्यक प्रक्रिया पूरा गरी झुम्का कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।